सामाजिक संजाल:

२०८२ माघ २३, शुक्रबार

सुर्खेत। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ मा मुख्य राजनीतिकदलहरुले नयाँ अनुहार मैदान उतारेका छन्। नेकपा एमाले, काँग्रेस र नेकपाले नयाँ अनुहारलाई अगाडी सार्दा रास्वपा पनि मुख्यप्रतिस्पर्धीका रुपमा चुनावमा देखिएको छ।

नेपाली काँग्रेस पृष्ठभूमि भएका रमेशकुमार सापकोटा रास्वपाबाट उम्मेदवार छन्। यस क्षेत्रमा प्रमुख प्रतिस्पर्धी मानिएका दलहरुले नयाँ अनुहारका नेतालाई उम्मेदवार बनाउँदा चुनावी माहोल रोचक बनाएको छ।

नेकपा एमालेले पार्टीका जिल्ला कमिटी सुर्खेत अध्यक्ष कुलमणी देवकोटालाई उठाएको छ। काँग्रेसले युवा नेता नारायण कोइरालाई उम्मेदवार बनाएको छ। नेकपाबाट झक्कबहादुर मल्ल ‘सुदीप’ मैदानमा छन्।

यस्तै, देवकोटा, कोइराला, सापकोटा र मल्लसहित १७ जना प्रत्यक्ष उम्मेदवार छन्। जसमा नेत्रबिक्रम चन्द्र विल्लव नेतृत्वको नेकपा माओवादीबाट र्धराज देवकोटा, प्रगतिशिल लोकतान्त्रीक पार्टीबाट पवन थापामगर, राष्ट्रिय जनमोर्चाबाट पूर्णबहादुर शाही, नेकपा संयुक्तबाट प्रेमबहादुर तारामीमगर, श्रम संस्कृति पार्टीबाट राजेन्द्र रायमाझी, नेपाल जनसेवा पार्टीबाट हृदयचन्द्र अधिकारी, राप्रपाबाट कविराम पुरी, उज्यालोपार्टी नेपालबाट गम्भीर सिंह भुल, नेपाल मजदुर पार्टीबाट तुल्सी खड्का, जनता समाजवादी पार्टी नेपालबाट दिपबहादुर नेपाली चुनाव लड्दैछन्।

साथै स्वतन्त्रबाट उदिराम चुनारा र कृष्ण खत्री चुनावी मैदानमा छन्।

यसअघि स्वतन्त्र उम्मेदवारी दिएका रमेश परियारले रास्वपालाइ समर्थन गरेका छन्।

विभिन्न दल तथा स्वतन्त्रबाट गरी १६  उम्मेदवार चुनावी मैदानमा होमिदा मुख्य प्रतिस्पर्धा एमाले, काँग्रेस, नेकपा र रास्वपाबीच गरी चार दलबीच हुने देखिन्छ।

नेपाली काँग्रेसबाट उम्मेदवार बनेका कोइराला रेडियो भेरीका अध्यक्ष हुन्। सुर्खेतको वीरेन्द्रनगर–९ का स्थायी घर भएका उनि नेपाल विद्यार्थी संघबाट राजनीति सक्रिए बनेका थिए। नेपाली कांग्रेसका पूर्वक्षेत्रीय सभापतिको जिम्मेदवारीमा रहेका उनि सुर्खेत उपत्यका नगर विकास समितिको अध्यक्ष बनेर काम गरिसकेका छन्।

२०५१ सालदेखिका सबै निर्वाचनमा उम्मेदवार बन्दै आएका काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानीले मैदान खालीगरेपछि कोइरालाले मौका पाएका हुन्। उम्मेदवार कोइराला थानीका विश्वास पात्रका रुपमा हेरिन्छन् भने उनिहरु गगन थापा निकटका हुन्।

कोराइला राजनीतिक गुरु थानीको आर्शिवाद लिएर युवाको नारा लगाउँदै चुनावी मैदानमा होमिएका छन्। उम्मेदवार बनेपछि कोइरालाले सबैसँग गुगल फर्मबाट सुझाव संकलन गरिहेका छन्। तर, उनलाई एमाले–काँग्रेसले भन्दा पनि रास्वपाले तनाव दिइरहेको छ। किनभने कोराइलाकै पूर्वसहकर्मी सापकोटा रास्वपाबाट उम्मेदवार छन्। काँग्रेस पृष्ठभूमी भएका सापकोटाले काँग्रेसका भोट काट्न सक्ने चिन्ता कोइरालालाई छ।

‘ठूला नेता तथा मन्त्रीहरुका क्षेत्रमा धेरै बजेट गएको देखिन्छ। विकास समता र समानता दुवै मिल्ले खालको हुनुपर्छ। यसमा म प्रष्ट छु।’, उनले भने, ‘आवश्यकताका आधारमा विकास हुनुपर्छ। ग्रासरुट नहेरी कुनै नेताको भनाइका आधारमा बजेट विनियोजन हुनु राम्रो हैन्।’

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सुर्खेत जिल्ला अध्यक्ष रहेका सापकोटा रास्वपा आवद्ध हुनुअघि काँग्रेसको वीरेन्द्रनगर नगर समितिका सचिवको जिम्मेवारीमा थिए। सापकोटा यातायात व्यवसायी हुन्। उनि काँक्रेविहार यातायात प्रालिका अध्यक्ष छन्। उनले पार्टीको योजना अनुसार प्रचार–प्रसारलाई निरन्तता दिएको बताउँदै मतदाताको रास्वपा र आफुप्रति सकरात्मक प्रतिक्रिया आएको बताए।

यस्तै, नेकपा एमालेबाट उम्मेदवार देवकोटा पनि संसदीय चुनावमा नयाँ अनुहार हुन्। यसअघि उनि कुनै पनि निर्वाचनमा भाग लिएका थिएनन्। एमाले सुर्खेत जिल्ला कमिटी अध्यक्ष देवकोटा लामो समय एमालेमा बसेर राजनीति गरेका नेता हुन्।

देवकोटाले सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थामा लामो समयदेखि नेतृत्व गरेर प्रत्येक जनाताको घर–घरमा पानी लगेका थिए। ‘एमाले नेतृत्वको सरकारले गरेका राम्रा कामले जनता हाम्रो पार्टीसँग निकट छन्’, देवकोटाले भने, ‘गुगलमा हैन्, ग्रामीण क्षेत्रमा हाम्रो संगठन बलियो छ। एमालेका मत दायाँबायाँ हुँदैनन्।’

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवार मल्ल दशक लामो सशस्त्र संघर्षको अग्रमोर्चामा रहेर काम गरेका नेता हुन्।

०३६ मंसिर २२ गते बराहताल गाउँपालिका–४ तरङ्गामा जन्मिएका मल्ल १४ वर्षको उमेरमै ०५० सालमा विद्यार्थी संगठन (अखिल क्रान्तिकारी) मा संगठित भएर उनले आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए।

जनयुद्धमा सामेल भएका उनि ०५५ सालमा अखिल क्रान्तिकारीको सुर्खेत जिल्ला अध्यक्ष, ०५५ सालमै पार्टीको जिल्ला सदस्य भएर काम गरेका थिए। ०५७ भदौमा तत्कालीन सरकारले माओवादी भएको आरोपमा उनीसहित १५ जना विद्यार्थी नेताहरूलाई पक्राउ गरेर सुर्खेत जेलमा हालेको थियो।

गिरफ्तारीपछि ३५ दिन हिरासत र त्यसपछि जेल जीवन भोगेका मल्ल लगायतका विद्यार्थी नेताहरुले ०५८ साल माघ २ गते सुर्खेत जेलब्रेक गरेका थिए।

उनि पहिलो पटक चुनाव लड्दै उनि नेकपाका केन्द्रीय सदस्य हुन्। ‘गुणस्तरीय शिक्षाका लागि प्रत्येक पालिकामा ‘आइटी कलेज’ स्थापना गरि प्रविधिमैत्री, व्यावहारिक र रोजगारमुखी शिक्षामा पहुँच पु¥याउने मेरो योजना छ’, उम्मेदवार मल्लले भने, ‘स्वास्थ्य सेवाको सुनिश्चितताका लािग पालिकास्तरमा विशेषज्ञसहितका स्वास्थ संस्था स्थापना, उज्यालो सुर्खेत र समृद्ध भविष्य’का लागि टोल–टोलमा सडक र सिँचाइ, घरघरमा बिजुली र खानेपानीको सुविधा पु¥याउँने मेरो योजना छ।’

यस्तो छ, अंक गाणित
यस क्षेत्रबाट २०७४ सालको निर्वाचनमा नेकपा एमाले माओवादीबीच भएको गठनबन्धनबाट साझा उम्मेदवार एमालेका नवराज रावत निर्वाचित भएका थिए। रावतले ३७ हजार ४४७ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्धन्द्धी काँग्रेसका हृदयराम थानी पराजित भए। थानीले २८ हजार ६४६ मत प्राप्त गरे।

२०७९ को निर्वाचनमा हालरको बदला दिँदै एमालेका उम्मेदवारलाई हराएर उनै थानी विजयी बने। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समावादीबीच भएको बाम गठबन्धनका साझा उम्मेदवार बनेका थानीले कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीको पक्षमा ३४ हजार ६२५ मत पाएका थिए। उनले नेकपा एमालेका जिल्ला अध्यक्ष अमृत कुमार विसीलाई ५ हजार ६७ मतान्तरले पराजित गरे। बिसीले २९ हजार ५५८ मत प्राप्त गरे।

थानीले यस क्षेत्रबाट तीन पटक संसदीय निर्वाचन जितेका थिए। तर, एमाले अहिले काँग्रेसँग हारको बदला लिने दाउमा छ।

सुर्खेत निर्वाचन क्षेत्र–२ मा वीरेन्द्रनगर नगरपालिकाकाका १४ वडा, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका पर्दछ। आगामी निर्वाचनका लागि १ लाख २६ हजार ४१ मतादाता रहेको यस क्षेत्रमा ६८ मतदान स्थल र १५४ मतदानकेन्द्र तोकिएका छन्।

यस्तै, २०७९ को निर्वाचनमा समानुपातिकतर्फ दलले पाएको मतपरिणा हेर्दा नेकपा एमाले अगाडी छ। एमालेले २५ हजार ८६ मत, काँग्रेसको २३ हजार १०, नेकपा (माओवादी केन्द्र)र नेपाल समाजवादी पार्टी)को संयुक्त १० हजार ५९, राष्ट्रिय स्वतन्त्र पार्टीको ६ हजार १४६, राष्ट्रिय प्रजातन्त्र पार्टीको ३ हजार ९७५ र नेकपा (एकीकृत समाजवादी)ले २ हजार ५०७ मत पाएका थिए।