सामाजिक संजाल:

२०८२ फाल्गुन ३०, शनिबार

सुर्खेत। छाउपडीको न्युनिकरणका लागि पराम्परागत सोच हटाउनुपर्नेमा जोड दिइएको छ। वीरेन्द्रनगरमा शनिबार सुरु भएको महिनावारी स्वास्थ्य प्रवद्र्धन कार्यक्रमः सामुदायिक कार्यशालामा सहभागीहरुले छाउपडी न्युनिकरणका लागि परम्परागत मूल्यमान्यता तथा सोचलाई हटाउनुपर्नेमा जोड दिएका हुन्।

कार्यशालामा बोल्दै दैलेखको आठबीस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवालले प्रत्येक व्यक्तिका सोचका कारण छाउपडी पर्थाको अन्य गर्न नसकिएको बताए। उनले समाजमा जाने बुझेका शिक्षित व्यक्तिहरुले नै व्यवहारमा लागू नगर्दा छाउपडी अझै कायमै रहेको औलाए।

प्रमुख बडुवालले महिनावारीलाई घरकै राख्दा देविदेवता रिसाउने पराम्परागत सोच समाजमा रहेको बताए। ‘महिनावारी भएको समयमा घरमा बस्दा देविदेवता रिसाउँछन् भन्ने छ। तर, त्यो होइन्’, उनले भने, ‘हाम्रा आस्थालाई मार्नुहुन्न, महिनावारी भएको बेला बाहिर पनि राख्नुहुँदैन्।’

आठबीस नगरपालिका–१ का वडाध्यक्ष बमबहादुर रावतलले छाउपडीले समाजमा जरा गाडेर बसेको बताउँदै यसलाई न्युनिकरणका लागि धेरै समय खर्चिनुपर्ने बताए।

आठबीस नगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख देवराज तिमिल्सेनाले छाउपडी पर्थाको अन्त्यका लागि निरन्तर जनचेतना र अभिमुखीकरण कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए।

यस्तै, त्रिभुवन विश्वविद्यालयका पूर्वप्रध्यापक प्रा.डा. मिभसेन देवकोटाले महिनावारीको रोग सानो ठूलो गरी सबै ठाउँमा छरिएको बताए। ‘महिनावारी बार्ने चलन सबै ठाउँमा भएको देखिन्छ। कतै ठूलो छ, कतै सानो’, उनले भने, ‘हामीले महिनावारी भएका महिलाहरुलाई सेवासुविधा, सुरक्षाका हिसाबले परिवार र समुदायमा सँगै राख्नुपर्ने छ।’

‘हाम्रो आवाजः छाउपडी अन्त्य, परिवर्तित जीवन’ भन्ने नारा राखिएको उक्त कार्यशाला ‘समिप’ कार्यक्रम अन्तरगत उक्त कार्यशाला अमेरिकास्थित पिट्सबर्ग विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, विकास स्रोत केन्द्र, एमएचएमपीए नेपाल लगायतका संस्थाको आयोजना र एनआईएच फोगार्टी इन्टरनेशनल सेन्टरको आर्थिक सहयोगमा गरिएको छ।

कार्यशाला शनिबार र आइतबार गरी दुइदिनसम्म सञ्चालन हुनेछ। समिपले गत जेठमा १० दिन दैलेखको आठबीस नगरपालिका–१ सातलाका विभिन्न टोलमा पुगेर पाउपडी पर्थाका बारेमा अध्ययन गरेको थियो।

महिनावारी स्वास्थ्य प्रवर्द्धन कार्यक्रमअन्तर्गत आयोजित कार्यशालामा छाउपडी प्रथा अन्त्य, महिनावारीसम्बन्धी सामाजिक कुरीति न्यूनीकरण तथा महिलाको स्वास्थ्य अधिकारबारे छलफल गरिएको छ।

कार्यक्रममा जनप्रतिनिधि स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता, सरोकारवाला निकायका प्रतिनिधि तथा विभिन्न समुदायहरुको सहभागीता रहेको छ।

कार्यशालामार्फत महिनावारीसँग सम्बन्धित मिथक र भेदभाव अन्त्य गर्दै महिलाको स्वास्थ्य र सम्मानित जीवन सुनिश्चित गर्न आवाज उठेका छन्।