सामाजिक संजाल:

२०८३ बैशाख १७, बिहीबार

काठमाडाैँ। पत्रकारलाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। महासंघले आज विज्ञप्ति जारी गर्दै घटनामा संलग्नमाथि कारबाहीको माग गरेको छ।

महासंघका अनुसार अस्ति मोरङको ग्रामथान गाउँपालिका–४, स्थित लोहन्द्रा खोलामा भइरहेको उत्खननको समाचार संकलनका निम्ति सात जना पत्रकार पुगेका थिए।

त्यसक्रममा पत्रकार डुमरलाल मेहता, मोहन ढकाल, सन्तोष मेहता, नरेन्द्र खड्का, प्रवेश तिम्सिना, ब्रम्हेव महतो र दीपेन्द्रकुमार साहलाई फेरि आएमा ज्यान मार्ने धम्की दिइएको महासंघको भनाइ छ।

उनीहरुले गाउँपालिका अध्यक्ष नमोनारायण माझीसहितले आफूहरुलाई त्यसरी धम्क्याएको आरोप लगाएका छन्। सार्वजनिक सरोकारका विषयमा नागरिकलाई सुसूचित गराउने धर्म निर्वाह गर्दा पत्रकारलाई धम्क्याएकोप्रति निन्द व्यक्त गर्दै महासंघले यो प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भएको बताएको छ।

‘महासंघ पत्रकारको ज्यान लिने धम्की दिनेहरुलाई कानुनी दायरामा ल्याउन माग गर्दछ। आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन र पत्रकारलाई निर्वाध एवं सुरक्षित पत्रकारिताको वातावरण निर्माणका लागि सम्बन्धित निकायसँग आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।