हिजो सम्पन्न ‘नेकपा एमाले पुनर्जागरण भेला’ मार्फत नेतृत्वको नयाँ बहस सुरु गरिएको छ। सर्वप्रथम, यो साहसका लागि सम्पूर्णमा हार्दिक धन्यवाद!
उपस्थित केही नेता कमरेडहरू नेतृत्वको सुझबुझ नपुग्दा विगतमा अन्यायमा परेका पक्कै हुन्, जो आफ्नो स्तरमा मेरा लागि सधैँ नेता थिए र अहिलेसम्म पनि छन्।अन्यथा, अरू कतिपय त हिजो माक्र्सवाद–लेनिनवाद र ‘जनताको बहुदलीय जनवाद’लाई बालकोटको ‘तेलवाद’ र ‘बा–वाद’ मा संस्थागत गर्ने पात्र मात्रै हुन्। यो
भनिरहँदा अहिलेको परिस्थितिका कारक सबै उनै हुन् भन्न खोजिएको होइन्, यसलाई प्रतिनिधि घटना र प्रवृत्तिगत आलोचनाका रूपमा बुझिदिनुहोला।
‘बालकोट र ‘बा’को आधिकारिक ठेक्का हामीले पाएका हौँ’ भन्दै नेतृत्वलाई घेराबन्दी गर्ने, गैरराजनीतिक आचरण र गैरमानवीय हर्कत गर्नेहरूसामु ‘जी–हजुरी’ गर्दै मुन्सी चरित्र अँगाल्ने पार्टी र जनसंगठनका नेताहरूले आलोचनात्मक चेत राख्ने कम्युनिस्ट चरित्रको वकालत गर्दा ‘धेरै आदर्शवादी नबन, अराजक नबन, सकिन्छौ’ जस्ता धम्की दिएको हामीले नदेखेका हौँ र? मेरो फलानो दाइ, मेरो फलानी दिदी भन्दै अधिवेशन तथा भेलामा फोन गर्न लगाएर ‘यो हुन्छ, यो भन्दा अरू हुँदैन’ भन्दै शक्तिको उन्मादमा विधि, विधान र प्रक्रियालाई आफ्नो च्यातिएको गोजीमा कैद गर्न खोज्नेहरूले क्रान्ति देख्दा ‘लालसलाम’ र प्रतिक्रान्ति देख्दा ‘खबरदारी’ को नारा लगाउनुपर्ने कुनै तुक देख्दिनँ।

नेतृत्वमा बसेर पार्टीलाई जन्मदिन र एनिभर्सरीका शुभकामना र केक अभियानमा सीमित गर्नु नै क्षमता, सक्रियता र योगदान देख्ने प्रवृत्ति; अनि पार्टीमा प्रशिक्षण, आचरण र आलोचनाका कुरा उठाउँदा हेडक्वार्टरमा ‘बमबारी’ को तयारी देख्ने जुन नजर थियो— खासमा त्यहीँबाट हामी कमजोर भयौँ।
हामीले चलाएको सरकारले विभिन्न कारणवस समाजका जुन एजेन्डा बोक्नुपथ्र्यो, ती बोक्नसकेनौँ। स्थानीय तहदेखि संघीय सरकारसम्म हामी विभिन्न समस्यामा फस्दै गयौँ, जसको मूल कारण हामी ‘गैरराजनीतिक चक्र’ मा फस्नु नै थियो।
विश्व भू–राजनीतिक चपेटामा सरकार र पार्टीलाई जनविरोधी बनाउन हाम्रा तीनै तहका सरकारका गतिविधिले मलजल गरे। समाजमा निराशा बढ्दै गयो र अन्ततः त्यो निराशा केन्द्रित हुँदै भाद्र २३/२४ को अप्रिय घटना घटाइयो।
त्यसको दोष पूर्ण रूपमा नेकपा एमाले र नेतृत्वमाथि थुपारियो, जसमा केही हदसम्म नैतिक जिम्मेवारी पर्न गयो। त्यसपछिको अन्तरिम सरकार र निर्वाचन परीणामपछि पार्टीमा विस्तारै नेतृत्व परिवर्तनको आवाज उठिरहेको छ।
पार्टीभित्र हुर्किएको ‘मैमत्तावाद’ ले नेतृत्व र भुइँतहका कार्यकर्ताबीचको दूरी बढायो। छलफल, विचार र विमर्शको औचित्य समाप्त पारियो। जबसम्म पार्टी कमिटीमा समसामयिक विषयवस्तुमाथि व्यापक छलफल र बहस हुँदैन, तबसम्म सामाजिक मुद्दाको वकालत कुनै नेता वा कमिटीले गर्न सक्दैन र पुनर्जागरण सम्भव छैन्।
एमालेले विगतमा ल्याएको ‘मिसन ग्रासरुट’ जुन आफैँमा एकदमै प्रभावकारी अभियान बन्न सक्थ्यो र जसको उद्देश्य जरामा भएको समस्याको समाधान जराबाटै गरौँ भन्ने थियो। तर, त्यसको व्यावहारिक प्रयोगमा पातको धुलो पुछ्दै सुकिसकेको पातमा हरियो रङ्ग लगाउँदै कम्युनिस्ट आत्मासँग छलकपट गरियो। यो एउटा प्रतिनिधि अभियान मात्र हो।

तमाम अभियान र रणनीतिहरू यसै गरी असफल गराइएका थिए। व्यक्ति देवत्वकरण र दानवीकरण छोडेर, विचार र बहस अनि व्यवहारबिना समाज रूपान्तरण असम्भव छ। सोही अनुरूप नेपालको कम्युनिस्ट आन्दोलन पनि विचार, बहस र समाजका जायज मुद्दा बोकेर मात्र सम्भव देखिन्छ।
हो, पार्टी पुनर्गठन हुनुपर्छ। आम कार्यकर्ताको नजरबाट समाजको सूक्ष्म अध्ययन गरेर, अहिलेको मानसिकता बुझेर, हाम्रो मार्गदर्शक सिद्धान्त र समाजसँगको दूरी बढ्नुका कारण खोज्दै पार्टीलाई पुनर्जीवन दिनुको विकल्प हामीसँग छैन। तर, मिडिया, साम्राज्यवादी प्रोक्सी बुद्धिजीवी र प्रोक्सी समाजले चाहेजस्तो सडक र सञ्जालको बहसले स्थिति बलियो होइन, अझ कमजोर बनाउँछ भन्ने पक्षलाई पनि हामीले हेर्न जरुरी छ।
कम्युनिस्ट आन्दोलन नै धरापमा रहेको अहिलेको अवस्थामा अबको नेतृत्व हामीले बोकेको विचार र त्यसको व्यावहारिक परिणाम ल्याउन सक्ने नेताको हातमा हुनुपर्छ। हाम्रो नेतृत्व अध्यक्ष कमरेड केपी ओलीपछिका पात्रहरूलाई पनि अहिलेको परिस्थितिका मुख्य दोषीका रूपमा समाजमा उभ्याइएको छ।
अगुवाले राम्रा–नराम्रा दुवै पक्षको नैतिक जिम्मेवारी लिनुपर्छ, त्यसमा दुईमत छैन। तर, परिवर्तनका नाममा नेपाली समाजमा विभिन्न शीत–साम्राज्यवादी औजारमार्फत सेट गरिएको मानसिकता अनुसार ‘हो मा हैसे’ गरेर लहडमै अघि बढ्ने कि द्वन्द्वात्मक तरिकाले घटनाको वस्तुपरक विश्लेषण गर्ने? यो प्रश्न तपाईँ–हामी कमरेडहरूमाझ आइपरेको छ।
कमजोरी भएका होइनन् भन्न खोजेको होइन; अवसरको असमान वितरण, नातावाद, कृपावाद र क्षेत्रीय असन्तुलन नै हाम्रा मुख्य समस्या हुन्। तर, कम्युनिस्ट आन्दोलन विरोधी गतिविधि कसले र कहाँबाट सुरु ग¥यो, र त्यसलाई परिणाममा पु¥याउन हामीले आफ्नो तह र जिम्मेवारी अनुसार कसरी योगदान गर्दै गयौँ भन्ने समीक्षा जरुरी छ।
लोकप्रियतावाद र क्रान्ती फरक कुरा हुन्, त्यो हामीले बुझ्न जरुरी छ। सामाजिक सञ्जालका लाइक, कमेन्ट र सेयरका आधारमा विचार निर्माण गर्ने होइन। यो माटो र यो समाजका आवश्यकताका आधारमा हामीले हाम्रो विचारलाई मूर्तरूप दिन नीति निर्माण गर्नुपर्ने हुन्छ। श्रमजीवी वर्गको मागको वकालत गर्ने विचार र व्यवहार आवश्यक हुन्छ।
बाह्य शक्तिहरूले नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्न नयाँ–नयाँ ‘भाष्य’ हरू निर्माण गरिरहेका छन्। यस्तो बेला नेतृत्वले केवल भावनामा बगेर होइन, बरु गम्भीर कूटनीतिक र राजनीतिक चातुर्यताका साथ पार्टीलाई सही दिशा दिनुपर्छ। संगठनभित्रको ‘आन्तरिक राजनीति’ नसुधारेसम्म र गैरराजनीतिक चरित्रको अन्त्य नगरेसम्म हामीले बाह्य प्रहारलाई निस्तेज पार्न सक्दैनौँ।
तसर्थ, नेपालमा कम्युनिस्ट आन्दोलन उठाउन वैचारिक स्पष्टता, व्यवहारिकता र आर्थिक–सामाजिक विवादमा नमुछिएको नेतृत्व आवश्यक छ। हामीले त्यस्ता पात्रलाई अगाडि बढाउन लागौँ। केही समयका लागि हिजोको तिक्तता बिर्सौँ र नवीन आधारबाट अघि बढौँ। अरूले सुन्न चाहेको बोल्ने र अरूले हेर्न चाहेको देखाउने मानसिकताले कदापि संघर्षको नेतृत्व गर्न सक्दैन।
इतिहासलाई हेर्दा पनि नेतृत्वको जन्म सहज परिस्थितिमा हुँदैन। युवराज राजा हुने प्रवृत्ति जस्तो होइन, बरु कठिन परिस्थितिमा विचार र समाजको आवश्यकतालाई मिश्रित परिणाममा ढाल्न सक्ने पात्र नै नेता बन्छ।
नेकपा एमालेलाई उठ्न केही सकस पक्कै छ, त्यसको समाधान निर्मम समीक्षासहित खोज्नुपर्छ। भीडको वास्तविक आवश्यकता महसुस गरी त्यसलाई सही दिशानिर्देश गर्ने व्यक्ति नै नेता हो। स्मरण रहोस्, हिजो नेतृत्वको आसपास फैलाइएको गन्धले इमानदार कार्यकर्ता निसासिएका छन्। तसर्थः खोक्रा लोकप्रियतावादीहरूको नक्कल गर्दै सक्कली क्रान्तिकारीको लेप दल्न खोज्नु प्रत्युत्पादक हुनेछ।
एमालेको नेतृत्व एमालेभित्रै, एमालेको मार्गदर्शक सिद्धान्तको चरित्रभित्रबाट निर्माण गर्न जरुरी छ। एमालेको पुनर्गठन हिजो पार्टी सत्ता र शक्तिको उन्मादमा समाज र संगठनमा नकारात्मकताको नाङ्गो नाच नाच्नेहरूबाट होइन, बरु हिजो पनि आलोचनात्मक चेत राख्ने र मुद्दा अनुरूप समर्थन वा खबरदारी गर्नेहरूबाट मात्र सम्भव छ।
फलानो मिडिया वा कफी शपको बहसले भीडलाई केही समय भ्रम देला, तर, कालान्तरमा असल विचार र सकारात्मक कार्यशैली भएको नेतृत्वले मात्र कम्युनिस्ट आन्दोलनलाई जोगाउन सक्छ।
हो, पुनर्जागरण पछि नै पुनर्गठन हो। यो जागरण भेलाले आफू र आफूले चाहेको व्यक्ति गलत नै भए पनि नेतृत्वमा पु¥याउने ‘टालटोल’ मानसिकतालाई त्यागोस्। अहिलेको सामाजिक मानसिकता, साम्राज्यवादी हर्कत, भू–राजनीतिक सन्तुलन र विश्वशक्तिको रणनीतिक लडाइँको वस्तुगत विश्लेषण गरेर एमालेको नयाँ आन्दोलनलाई नयाँ आयामका रूपमा अघि सार्न सक्ने नेतृत्व र संगठन निर्माण होस्।
क्रान्तिकारी अभिवादन सहित!
हार्दिक शुभकामना।
लेखक शाही राष्ट्रिय युवा संघ नेपालका कर्णाली प्रदेश अध्यक्ष हुन्।



