२०८३ बैशाख २३, बुधबार

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले भेरी नदीबाट जथाभावी ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्ने क्रममा डोजर र टिपरलाई नियन्त्रणमा लिएको छ।

भेरीगंगा र लेकबेशी नगरपालिकाका विभिन्न क्षेत्रबाट नदी दोहनमा प्रयोग भएका विभिन्न १७ वटा सवारी नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेटर दीपक मगराठी गएराती उक्त सवारीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

विशेष सूचना र पालिकाको आग्रहमा खटिएको प्रहरी टोलीले उत्खनन स्थलमै पुगेर सवारीहरू नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।

यस्तै, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुदिरराज शाहीले १२ टिप्पर, २ ट्याक्टर, २ जेसीभी र १ स्काभेटरलाई नियन्त्रणमा लिएको जानकारी दिए।

उनकाअनुसार भेरीगंगा नगरपालिका–१३ को सालटाकुरा र लेकवेशी नगरपालिका–७ को पटारे क्षेत्रमा भेरी नदीको बहाव नै प्रभावित हुने गरी अवैध उत्खनन भइरहेको थियो।

एसपी शाहीले सम्बन्धित पालिकाले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन विपरीत गतिविधि गरेपछि नियन्त्रणमा दिइएको जानकारी दिए।
‘उत्खनन नै गर्न नपाइने भन्ने होइन, तर तोकिएको विधि र प्रक्रिया मिचिएकाले कारबाही गरिएको हो। उनले भने, ‘हामीले नियन्त्रणमा लिएका यी सवारीहरूलाई थप कारबाहीका लागि सम्बन्धित पालिकामा पठाउँदैछौँ।’

नियन्त्रणमा लिइएका सवारी साधन अब सम्बन्धित नगरपालिकाको जिम्मा लगाइने प्रहरीले जनाएको छ।