२०८३ जेष्ठ २८, बिहीबार

वीरेन्द्रनगर। सुर्खेतको पञ्चपुरी नगरपालिका–२ सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा मधुमेह तथा उच्च रक्तचाप लक्षित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। केएन हेल्थ फाउण्डेशनको आयोजनामा र सालकोट स्वास्थ्य केन्द्रको सहजिकरणमा शिविर सञ्चालन गरिएको हो।

कर्णालीका दुर्गम क्षेत्रका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा मधुमेह तथा उच्च रक्तचाप लक्षित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको केएन हेल्थ फाउण्डेशनकी संयोजक मनिका गौतमले जानकारी दिइन्।

हेल्थ फाउण्डेशन तर्फबाट निःशुल्क स्वास्थ्य शिविरका संयोजक डाक्टर केएन पौडेलले शिविरमा करिब २०० जना बिरामीहरूको स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको जानकारी दिए।

उनले कर्णालीको दुर्गम भूगोलमा १० वर्षभन्दा बढी समय बिताउएको र यहाँका गरिब, विपन्न र सेवाबाट वञ्चित नागरिकहरूको सेवा गर्ने चाहना कहिल्यै कम नभएको बताए। त्यही चाहना र भावनाबाट प्रेरित भएर सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा मधुमेह र उच्च रक्तचाप लक्षित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी बताए।

यस्तै, स्थानीय नागरिकले स्वास्थ्य सेवाप्रति देखाएको उत्साह र आवश्यकताले दुर्गम क्षेत्रमा यस्ता कार्यक्रमको आवश्यकता झन् स्पष्ट भएको डाक्टर पौडेलको भनाइ छ।

शिविरलाई सफल बनाउन सालकोट प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकहरु लायन्स क्लब अफ सुर्खेत, फार्मोनिक्स औषधि उद्योग तथा सुर्खेत अस्पतालको टोलीले महत्वपूर्ण सहयोग रहेको आयोजकले जनाएको छ।

फाउण्डेशनले कर्णालीका दुर्गम बस्तीमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने योजना बनाएको छ।