२०८३ असार २०, शनिबार

सल्यान। देशका विभिन्न स्थानमा पन्छीमा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) संक्रमण देखिन थालेपछि सल्यान जिल्लामा पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारीका गतिविधि अघि बढाइएको छ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय, सल्यानको आयोजनामा प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाको संयोजकत्वमा बर्ड फ्लू नियन्त्रण समितिको पूर्वतयारी बैठक सम्पन्न भएको हो।

बैठकले जिल्लामा बर्ड फ्लू संक्रमण भित्रिन नदिन जिल्लामा प्रवेश गर्ने मुख्य नाकाहरूमा कडा निगरानी गर्ने निर्णय भएकाे पशु अस्पताल तथा पशु सेवा कार्यालय, सल्यानका प्रमुख डाक्टर अनुप श्रेष्ठले जानकारी दिए।

उनका अनुसार  पन्छी तथा पन्छीजन्य वस्तुको ओसारपसारमा आवश्यक निगरानी र समन्वयलाई प्रभावकारी बनाइने विषयमा छलफल समेत भएकाे छ।

त्यसैगरी, स्थानीय तह तथा पशु अस्पताल तथा पशु सेवा कार्यालय, सल्यानको समन्वयमा बर्ड फ्लू रोगबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने निर्णय पनि गरिएको छ।

सम्भावित जोखिम न्यूनीकरणका लागि किसान, व्यवसायी तथा सर्वसाधारणलाई रोगको पहिचान, रोकथाम तथा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइने कार्यालयले जनाएको छ।

सम्बन्धित निकायहरूबीच समन्वय, सतर्कता र प्रभावकारी निगरानीमार्फत जिल्लालाई बर्ड फ्लू संक्रमणबाट सुरक्षित राख्न आवश्यक सबै तयारीलाई तीव्र बनाइने बैठकमा प्रतिबद्धता व्यक्त गरिएको छ।