वीरेन्द्रनगर। दैलेखका उत्कृष्ट किसानलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ। शुक्रबार कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले पुरस्कार प्रदान गरेका हुन्।
दैलेख जिल्लाभित्रका उत्कृष्ट किसानहरुलाई नगद पुरस्कार तथा सम्मानपत्रसहित सम्मानित गरिएको हो।
कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उत्कृष्ट कृषकहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन्।
कृषि तथा पशुपालन क्षेत्रमा निरन्तर मेहनत गर्दै उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, उद्यमशीलता तथा आत्मनिर्भर कृषि प्रणाली विकासमा योगदान पुर्याएका कृषकहरूलाई सम्मान गरिएको हो।
सम्मानले कृषकहरूको मनोबल वृद्धि गर्नुका साथै अन्य किसानलाई पनि व्यावसायिक कृषि तथा पशुपालनतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा बोल्दै मन्त्री शाहले नेपालजस्तो कृषिप्रधान देश भएको उल्लेख गर्दै कृषि क्षेत्रलाई परम्परागत प्रणालीबाट आधुनिक, व्यावसायीक र बजारमुखी उत्पादन प्रणालीतर्फ रूपान्तरण गर्न आवश्यक रहेको बताए।
उनले कृषि क्षेत्रलाई सम्मानजनक, आम्दानीमुखी र दीगो व्यवसायका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
मन्त्री शाहले कृषिमा उत्पादन बढाउन आधुनिक प्रविधिको प्रयोग, उन्नत जातका बिउबिजन, यान्त्रिकीकरण, सिँचाइ सुविधा, प्रशोधन तथा बजारीकरणमा विशेष ध्यान दिएको बताए।
कार्यक्रममा बोल्दै पशु अस्पताल तथा पशु सेवा कार्यालय प्रमुख प्रचण्ड खड्काले दैलेख कृषि तथा पशुपालनको अत्यन्त सम्भावना बोकेको जिल्ला भएको बताए।
साथै उनले प्रदेश सरकारले विशेष रुपमा किसानलाई कार्यक्रमको पहुँचमा ल्याउन आवश्यक बजेटको विनियोजन हुनुपर्ने बताए। ‘जिल्लाका ८० प्रतिशतभन्दा बढी नागरिक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषि पेशामा आबद्ध छन्’ प्रमुख खड्काले भने, ‘उपलब्ध स्रोत–साधन सीमित हुँदा सबै किसानलाई अपेक्षाअनुसार सेवा दिन सकिएको छैन्।’

