वीरेन्द्रनगर। नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुर्खेतले पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसको अवसरमा बिहीबार बिहान वीरेन्द्रनगर–४ स्थित सहिदपार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा पार्टीका केन्द्रीय कमिटी सचिव तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको प्रमुख सहभागिता रहेको थियो।
साथै, एमालेका केन्द्रीय सदस्य मोहनमाया ढकाल, प्रदेश, जिल्ला, नगर तथा वडा कमिटीका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
पुष्पलाल श्रेष्ठको स्मृतिलाई सम्मान गर्दै वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरिएको एमाले सुर्खेतले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले वृक्षारोपणमार्फत वातावरण संरक्षणमा सबैले योगदान दिनुपर्नेमा जोड दिएका थिए।

वृक्षारोपण कार्यक्रममा बाेल्दै कर्णालीका मुख्यमन्त्री कँडेलले पुष्पलाल श्रेष्ठले नेपाली राजनीति र समाज रूपान्तरणका लागि पुर्याएको वैचारिक योगदानको चर्चा गरे।
‘नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक जग दिने काम पुष्पलालले नै गर्नुभएको हो। उहाँले देखाउनुभएको आर्थिक र सामाजिक न्यायको बाटोमै हिँडेर मात्र हामीले कर्णालीको गरिबी र पछौटेपन अन्त्य गर्न सक्छौँ।’ उलने भने।
मुख्यमन्त्री कँडेलले मुलुकको पछिल्लो राजनीतिक उतारचढावसँगै विकसित भएको जेन्जी आन्दोलन र त्यसपछिको बदलिएको राष्ट्रिय राजनीतिक समीकरणका कारण पार्टी र सिंगो मुलुक नै अत्यन्तै कठिन परिस्थिति र चुनौतीपूर्ण मोडबाट गुज्रिरहेको बताए।
साथै उनले भाषण र नाराले मात्र पुष्पलालप्रति सच्चा श्रद्धाञ्जली हुन नसक्ने उल्लेख गर्दै उनले युवाहरूको असन्तुष्टिलाई रचनात्मक रूपमा सम्बोधन गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
रामेछापमा जन्मिएका पुष्पलालको वि.सं. २०३५ साल साउन ७ गते निधन भएको थियो।

