वीरेन्द्रनगर । सुर्खेत बहुमुखी क्याम्पस प्रशासनले गरेको शुल्कवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनसहित विद्यार्थीहरू आन्दोलित भएका छन्। शुल्कवृद्धि फिर्ता गर्न पटक–पटक ध्यानाकर्षण गराउँदा प्रशासनले विद्यार्थीका मागप्रति बेवास्ता गरेको भन्दै आन्दोलित भएका हुन्।
मंगलबार विभिन्न विद्यार्थी संगठनहरूले संयुक्त विज्ञप्ती निकाल्दै क्याम्पस प्रमुख समक्ष ज्ञापन पत्र समेत बुझाएको जनाएका छन्।
विद्यार्थीले क्याम्पस प्रशासनसँग पटक–पटक अनुरोध तथा छलफलको प्रयास गरिए पनि समस्या समाधानका लागि अहिलेसम्म प्रभावकारी छलफल अघि नबढाएको उनिहरुको भनाइ छ।
क्याम्पसले बिएडको शुल्क सात हजार पाँच सय सयबाट बढाएर नौ हजार, बिबिएसको नौ हजारबाट ११ हजार पाँच सय, बिएड साइन्सको १३ हजार पाँच सयबाट १६ हजार तथा बिआइसिटीईको २२ हजार पाँच सयबाट २५ हजार रुपैयाँ पुर्याएको विद्यार्थीहरूको भनाइ छ।
अनेरास्ववियुका विद्यार्थी नेता भरत शाही ठकुरीले विद्यार्थीको आर्थिक अवस्थालाई बेवास्ता गर्दै गरिएको शुल्क वृद्धि कुनै हालतमा स्वीकार्य नहुने बताए। उनले विद्यार्थीको जायज माग सम्बोधन नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिए।
विद्यार्थीहरूले शुल्कवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने जनाएका छन्।
विद्यार्थीहरूले शुल्क वृद्धिले विद्यार्थीमाथि थप आर्थिक भार सिर्जना गरेको भन्दै प्रशासनलाई तत्काल निर्णय सच्याउन आग्रह गरेका छन्। साथै, विद्यार्थी संगठन तथा स्ववियुको भूमिकालाई कमजोर बनाएर विद्यार्थीमाथि मनपरी शुल्क थोपर्न खोजिएको आरोप उनिहरूको छ।



