२०८३ आश्विन १, बिहीबार

सुर्खेत। कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीकाे निधन भएको छ। पारिवारिक स्रोतका अनुसार, बुधबार बेलुका कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

उनलाई हृदयाघात भएको परिवारकाे भनाइ छ।  दैलेखकाे चामुण्डाबिन्द्रासैनी नगरपालिका बुडेली निवासी शाही २००६ सालमा जन्म भएकाे थियाे।

उनले ‎२०३६ को जनमत सङ्ग्रहमा निर्दलीय पञ्चायती व्यवस्था विरुद्ध बहुदलीय प्रजातन्त्रको पक्षमा जनजागरण अभियानमा अग्रणी भूमिका निभाएका थिए।

शाहीलाई कांग्रेस दैलेखकाे राजनीतिका अग्रणी नेताका रुपमा लिने गरिन्छ। कांग्रेसका संस्थापक नेता बिपी कोइरालालाई भेटेपछि कांग्रेसको राजनीति सुरु गरेका थिए।

बहुदल प्राप्तिका लागि २०३२ देखि २०४६ सालसम्म भूमिगत भएका शाही विभिन्न समयमा गरी ९ पटक गिरफ्तार परे। २०४६ सालको जनआन्दोलनमा ५१ दिन हिरासत बसेका थिए।

उनी २०४९ सालमा जिल्ला विकास समिति दैलेखका सभापति बने। २०६४ र २०७० सालकाे संविधान सभा चुनाव लडेका थिए। तर जित्न सकेनन्।

०७४ मा समानुपातिकतर्फ कर्णाली प्रदेशसभा सदस्य भएका उनि कांग्रेस संसदीय दलको प्रमुख सचेतक समेत बने। त्यसपछि प्रदेशकाे आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए।

प्रदेश सभाको ५ वर्षे कार्यकाल पश्चात् उनी राजनीतिको रिटायर्ड जिन्दगी आफ्नै गाउँमै बिताइरहेका थिए।