२०८३ असार १८, बिहीबार

सुर्खेत। सुर्खेतबाट कालीकोट जाँदै गरेको फोर्स गाडी कर्णाली नदीमा खसेको छ। बिहीबार बिहान साढे ११ बजेको समयमा फोर्स गाडी नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायाले सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख १०५५ नम्बर गाडी कर्णाली राजमार्ग अन्तरगत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतडा नजिक दुर्घटनमा परेको जानकारी दिए।

उनका अनुसार गाडी दुर्घटनामा परेको खबर ११ः४५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय दैलेखलाई जानकारी प्राप्त भएको हो।

प्रहरीका अनुसार सडकबाट करिब ५०० मिटर तल गाडी खसेको र सडकबाट हेर्दा गाडी नदेखिएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय दैलेखबाट डिएसपी श्रवणकुमार बिकको नेतृत्वमा १५ जना प्रहरी टोली घटनास्थल तर्फ लागेको छ।