२०८२ चैत्र १४, शनिबार

सुर्खेत। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कर्णाली प्रदेश समितिले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक माथि गरिएको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संयोजक धर्मबहादुर शाहीले शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र तथा कानुनी राज्यको पक्षमा दृढ रहेको उल्लेख गर्दै राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको कारबाहीले विधिशासनको न्यूनतम मान्यता उल्लंघन गरेको आरोप छ।

विज्ञप्तिअनुसार कानुनी रूपमा पुष्टि हुन नसक्ने अस्पष्ट आरोपका आधारमा सरकार गठन भएको छोटो समयमै पूर्वप्रधानमन्त्रीलाई पक्राउ गर्नुले राज्य सञ्चालनको स्थायित्वमा समेत प्रश्न उठाएको उल्लेख गरिएको छ।

अनेरास्ववियुले यस्तो कदमले वर्तमान सरकारको नियतमाथि समेत शंका उत्पन्न गरेको जनाएको छ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा योगदान दिएका नेतामाथि गरिएको व्यवहारप्रति आपत्ति जनाउँदै संगठनले घटनाको भर्त्सना गरेको छ।

साथै, सरकार र सम्बन्धित निकायसँग तत्काल उनीहरूको अविलम्ब रिहाइको माग गर्दै गैरकानुनी कार्यको सशक्त प्रतिकार गर्न मातहतका कमिटीहरूलाई निर्देशन दिएको जनाएको छ।