सुुर्खेत। नेकपा एमालेका सचिव यामलाल कँडेलले देशलाई वर्तमान संकटबाट निकास दिन आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्। सोमबार नेकपा एमाले सुर्खेतले वीरेन्द्रनगर–१२, मा आयोजना गरेको चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले एमाले र कांग्रेसजस्ता स्थापित दलबिना देश अघि बढ्न नसक्ने दाबी गरे।
‘हामी भोट मात्र माग्दैनौं, जनताको भरोसा गुम्न दिँदैनौं,’ उनले भने, ‘२०८४ मा हुनुपर्ने चुनाव फागुन २१ मा हुन लागेको छ, त्यसैले यो निर्वाचन विशेष महत्वको छ।’
कँडेलले सिंहदरबार र देशका प्रमुख धरोहर जलाउने तथा सहकारी ठगीमा संलग्न व्यक्तिहरू नयाँको मुखुण्डो ओढेर जनतालाई भ्रमित पार्न खोजिरहेको आरोप लगाए। सामाजिक सञ्जालमार्फत देशमा केही पनि नभएको जस्तो नकारात्मक सन्देश फैलाएर नागरिकलाई अल्मल्याउने काम भइरहेको उनको भनाइ थियो।
उनले वैधानिकताको लडाइँमा रहेको कांग्रेस एक्लैले देशको निकास दिन नसक्ने दाबी गर्दै फरक राजनीतिक कित्तामा उभिए पनि एमाले र कांग्रेसबीचको प्रतिस्पर्धा नै मुलुकका लागि आवश्यक भएको बताए।
त्यस्तै, उनले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक प्रचण्डप्रति पनि विश्वास नभएको टिप्पणी गरे।
‘हिजो जलाउन उक्साउनेहरूले अहिले देश जलाउने र बनाउनेको भाषा प्रयोग गरिरहेका छन्,’ उनले भने। कँडेलले आगामी निर्वाचन भोट हाल्ने प्रक्रियामा सीमित नभई देशलाई भूराजनीतिक चुनौतीबाट जोगाउने अवसरसमेत हो।
नकारात्मकतालाई मात्र चर्चा गर्दा नागरिकमा वितृष्णा बढेको भन्दै उनले विकास र स्थायित्वका मुद्दामा केन्द्रित नेता तथा कार्यकर्तालाई निर्देशन दिए। नयाँ शक्तिका नाममा आएको समूहले स्थानीय तह र प्रदेश सरकारले गरेका काममा अनावश्यक विरोधाभास सिर्जना गर्न खोजेको आरोप लगाउँदै उनले मतदातालाई भ्रममा नपर्न आग्रह गरे।