वीरेन्द्रनगर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजनामा बनेको बेलिब्रिजको उद्घाटन गरेका छन्।
बिहीबार कैलाश हेलिकप्टरबाट डोल्पा पुगेका मन्त्री श्रेष्ठले जलविद्युत आयोजनाअन्तर्गत निर्माण सम्पन्न कार्यालय तथा आवास भवन र आयोजना पहुँचमार्गमा निर्माण गरिएको बेलिब्रिजको उद्घाटन गरेका हुन्।
डोल्पाको मुड्केचुला र जगदुल्ला गाउँपालिकामा १०६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छ।
मुड्केचुला–४ ईलस्थित आयोजनाको कार्यालय, आवास भवनको उद्घाटन र सुरुङमार्गको ब्लास्टिङ कार्यको शुभारम्भसँगै जगदुल्ला–२ मा निर्माण गरिएको कार्यालय भवन र आयोजना पहुँच मार्गभित्रका बेलिब्रीजको उद्घाटनसँगै अवलोकन गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जगदुल्ला जलद्युत आयोजना समग्र कर्णाली प्रदेशको आर्थिक तथा सामाजिक विकासको आधार बन्ने दाबी गरे।
उनले यस जलविद्युत आयोजनाले स्थानीय उत्पादनले सहज बजार पाउने, रोजगारीका अवसर सिर्जना हुने तथा मुड् केचुलाका नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे।
उनले यस आयोजना विकासको नयाँ ढोका भएको उल्लेख गर्दै डोल्पालाई मात्र नभई सिंगो कर्णालीलाई ऊर्जा क्षेत्रमा दिगो र आत्मनिर्भर बनाउन टेवा पुग्ने धारणा राखे।
जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजना सम्पन्न भएपछि कर्णालीको ऊर्जा उत्पादनमा उल्लेखनीय योगदान पुग्ने आयोजनाका कार्यकारी निर्देशक सञ्जय सापकोटाले बताए।
उनले जगदुल्ला जलविद्युत आयोजनाले स्थानीय आर्थिक गतिविधि विस्तार, पूर्वाधार विकास र रोजगारी सिर्जनामा समेत महत्वपूर्ण योगदान पुर्याउने जानकारी दिए।

