वीरेन्द्रनगर। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी जेठ २२ गतेदेखि पहिलोपटक राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
सन् २०२७ मा नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्न लागेको आईसीसी यू–१९ महिला विश्वकपका लागि नेपाली टोलीको छनोट खेलका रूपमा यो प्रतियोगिता सञ्चालन हुन लागेको हो।
कर्णाली प्रदेश क्रिकेट संघका सचिव श्रीधर केसीले यही जेठ २२ गतेदेखि असार १ गतेसम्म सञ्चालन हुने यस यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा देशका ७ वटै प्रदेशका टोलीहरूले सहभागिता हुने जानकारी दिए।
कर्णालीको टोली बन्द प्रशिक्षणमा
प्रतियोगिता नजिकिएसँगै घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ कर्णाली प्रदेशको छनोट भइसकेको टोली सुर्खेतमा बन्द प्रशिक्षणमा व्यस्त रहेको छ। खेलाडीहरूलाई प्राविधिक तथा शारीरिक रूपमा सबल बनाउन विशेष प्रशिक्षण दिइराखिएको संघले जनाएको छ।
यस्तै, भौतिक पूर्वाधार र खेलकुद गतिविधिमा क्रमशः अघि बढिरहेको कर्णाली प्रदेशका लागि यो प्रतियोगिता ऐतिहासिक कोसेढुङ्गा सावित हुने देखिएको छ। कर्णालीले गत वर्ष पहिलोपटक पुरुषतर्फको राष्ट्रिय क्रिकेट प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको थियो।
कर्णालीको इतिहासमा यो दोस्रो राष्ट्रिय प्रतियोगिता हो। तर, महिला क्रिकेटको इतिहासमा भने यो नै पहिलो राष्ट्रिय खेल भएको क्रिकेट संघका सचिव श्रीधर केसीले बताए।









