सामाजिक संजाल:

२०८२ फाल्गुन १४, बिहीबार

सुर्खेत । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कर्णाली प्रदेशको विकासका लागि केवल नाराभन्दा संरचनागत सुधार आवश्यक रहेको बताएका छन्। प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित बिशाल चुनावी सभालाई सम्बोधन गर्दै उनले लिखित भाषण पढेर सुनाउन सजिलो भए पनि विकासका लागि वास्तविक समस्या जटिल रहेको उल्लेख गरे।

थापाले केही समय अघि सोही ठाउँमा भएको रास्वपाको परिर्वतन सभालाई सम्झिँदै भने, ‘कर्णाली स्वर्ग हो भन्न सकिन्छ, नर्क हो भन्न सकिन्छ, यहाँका स्याउ र जडीबुटीका कथा भन्न सकिन्छ,’ उनले थपे, ‘तर प्रश्न के हो भने देशभर करिब १७–१८ प्रतिशत गरिबी हुँदा कर्णालीमा किन झन्डै ४० प्रतिशत गरिबी छ? किन बेरोजगारी सबैभन्दा बढी यहाँ छ? किन स्वास्थ्य सेवामा अझै आमाहरू जोगिन सकेका छैनन्?’

रवि, बालेनले कर्णालीमा बोलेको भाषणको खण्डन गर्दै सभापति थापाले पूर्ववर्ती सरकारलाई दोष दिएर मात्र समस्या समाधान नहुने बताउँदै समस्याको जडमा पुग्नुपर्ने धारणा राखे। कर्णालीको विकास लागत काठमाडौंभन्दा धेरै महँगो रहेको उल्लेख गर्दै उनले वित्तीय संरचनामै असमानता रहेको तर्क गरे।

‘कर्णाली प्रदेशको वार्षिक आन्तरिक आम्दानी करिब ५२ करोड रुपैयाँ मात्रै छ’, उनले भने, ‘तर काठमाडौं महानगरपालिकामा अर्बौँ रुपैयाँ स्वतः संकलन हुन्छ, किनकि कर संरचना त्यहीँ केन्द्रित छ।’

घरभाडा कर र व्यवसायिक गतिविधिबाट बढी राजस्व काठमाडौंमा उठ्ने भएकाले स्रोत वितरण असन्तुलित भएको स्पष्ट पारे।

उनले प्रदेश सरकारले पाउने राजस्वको आधार मुख्यतः जनसंख्या मात्रै भएकाले भूगोल, दुर्गमता र विकास लागतलाई समेट्ने गरी संविधान र कानुन संशोधन आवश्यक रहेको बताए। ‘कर्णालीलाई बलियो बनाउन संविधान र कानुनमा केही परिवर्तन अनिवार्य छ’, उनले भने, “हामी पाँच वर्षभित्र आवश्यक सुधारका लागि पहल गर्छौँ।’

थापाले कर्णालीमा बजेट अभाव मात्रै नभई खर्च कार्यान्वयनमा पनि समस्या रहेको स्वीकार गरे। दुर्गम तथा हिमाली जिल्लामा असार–साउनबाट सुरु हुने आर्थिक वर्ष र जेठ १५ मा बजेट ल्याउने प्रावधानका कारण कात्तिक–मंसिरपछि हिमपात हुँदा बजेट खर्च हुन नसकी ठूलो हिस्सा फ्रिज हुने अवस्था रहेको उनले बताए।

उनले कर्णालीलाई आत्मनिर्भर र सक्षम प्रदेश बनाउन दीर्घकालीन वित्तीय सुधार, कानुनी संशोधन र योजनाबद्ध कार्यान्वयन आवश्यक रहेको दोहो¥याउँदै निर्वाचनमार्फत बलियो जनादेश दिन मतदातालाई आह्वान गरे।

यस्तै, उनले संविधानको रक्षा, राजनीतिक स्थिरता र सुशासन स्थापनाका लागि फागुन २१ गते हुने निर्वाचन निर्णायक अवसर भएको बताए। देश जोड्ने उद्देश्यका साथ मधेस हुँदै कर्णाली आइपुगेको उल्लेख गर्दै सभापति थापाले भव्य उपस्थितिले कर्णालीमा यसपटक काङ्ग्रेसले शानदार विजय हासिल गर्ने संकेत दिएको बताए। ‘अब केही दिन मात्रै बाँकी छन्, प्रत्येक जिल्ला र निर्वाचन क्षेत्रमा अझ बढी मेहनत गर्नुपर्छ,’ उनले भने, ‘देशभर उत्कृष्ट परिणाम ल्याउने प्रदेशका रूपमा कर्णालीलाई पुनः स्थापित गर्नुपर्छ।’

यस्तै, सभापति थापाले गत भदौ २३ र २४ गते भएका घटनाको स्मरण गर्दै ती दिन ज्यान गुमाउने युवाहरू तथा सम्पूर्ण अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे। ती घटनाबाट पाठ नसिके पुनः अस्थिरता दोहोरिन सक्ने चेतावनी दिँदै उनले अब सरकारको गोलीबाट निर्दोष नागरिकको ज्यान जान नहुने र हिंसात्मक प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए।

उनले ती घटनालाई हेर्ने दृष्टिकोणमा समाजमा फरक–फरक मत रहेको उल्लेख गर्दै अतिवादी सोच र राजनीतिक स्वार्थले देशलाई फेरि दुर्घटनातर्फ लैजान सक्ने धारणा राखे। ‘संवाद, सहमति र सुधारको बाटो नै हाम्रो विकल्प हो’, उनले भने।

साथै उनले संविधान निर्माण र चुनावपछि देशले विकासको गति समात्नुपर्ने बेला राजनीतिक अस्थिरता बढेको स्वीकार गरे। ‘सरकार बनाउने, टिकाउने र हटाउने खेलमै राजनीति सीमित हुँदा संविधानका प्रावधान व्यवहारमा उतार्न सकिएन’, उनले भने, ‘यसले नागरिक, विशेषगरी युवामा असन्तुष्टि बढायो।’

विशेषगरी २०५२ देखि २०६३ सालसम्म कर्णालीले भोगेको हिंसा र पीडाको स्मरण गर्दै उनले हिंसाबाट बाहिर निस्कनु नै त्यतिबेला सबैभन्दा ठूलो उपलब्धि भएको बताए। तर, त्यसपछि विकास र सुशासनमा अपेक्षित प्रगति हुन नसक्नुमा राजनीतिक त्रुटि रहेको उनको स्वीकारोक्ति थियो।

यस्तै, थापाले गठबन्धनको राजनीतिले प्रणालीलाई दूषित बनाएको टिप्पणी गर्दै कांग्रेस अब “फोहोर राजनीति सफा गर्ने” संकल्पका साथ अघि बढेको बताए। २०८२ देखि २०८७ सम्मको पाँच वर्षलाई देश रूपान्तरणको कालखण्ड बनाउन दाबी गरे।

साथै उनले निर्वाचनपछि गठन हुने सरकारले पाँच वर्ष कुर्ने शैली नअपनाउने बताए। उनले भने, ‘प्रत्येक महिनाको पहिलो दिन सरकार जनतासामु उभिएर एक महिनाको कामको समीक्षा गर्नेछ। पाँच वर्ष केवल समय होइन, कामको समय हुनेछ। कांग्रेस सुस्ताउँदैन।’

सभामा उनले लोकतन्त्रको रक्षा, संविधानको कार्यान्वयन र स्थिर सरकार निर्माणका लागि एकताबद्ध भई निर्वाचन सफल बनाउन आह्वान गरे।

यस्तै, सभापति थापाले निर्वाचन प्रचार शैली सामाजिक सञ्जाल र ‘भाइरल’ संस्कृतिमा सीमित हुँदै गएको टिप्पणी गर्दै मतदातालाई भ्रमभन्दा विवेकपूर्ण निर्णय गर्न आग्रह गरे। उनले अहिलेको चुनावमा उम्मेदवारले के बोल्यो भन्दा पनि कसरी बोल्यो, कसरी हात हल्लायो र मोबाइलमा के भाइरल भयो भन्ने कुराले चर्चा पाउने अवस्था बनेको बताए। ‘यहाँ मैले कर्णालीका गम्भीर मुद्दा उठाएँ भने पनि त्यसले भन्दा सानो विवादित वाक्य भाइरल हुन्छ,’ उनले भने।

उनले खुला गाडीमा हात हल्लाउँदै हिँड्नुपर्ने प्रचार शैलीप्रति पनि व्यङ्ग्य गर्दै आफू व्यक्तित्व प्रदर्शनभन्दा मुद्दामा केन्द्रित राजनीति गरेको दाबी गरे। ‘चुनाव प्रचार देखावटको प्रतिस्पर्धा होइन, दिशाको प्रतिस्पर्धा हुनुपर्छ।’ उनले भने।

सभापतिले विगतमा विभिन्न शक्तिहरूले चमत्कारको नारा दिएको तर अपेक्षित परिणाम नआएको उल्लेख गरे। ‘नयाँ भनेर आएका शक्तिहरूले पनि पाँच वर्षमा चमत्कार गर्छौँ भनेका थिए, तर जनताले अनुभव गरेनन्।’ उनले भने।

अब देशले पाएको अवसर खेर नफाल्न आग्रह गर्दै उनले कांग्रेस सुधारिएको र आत्मसमीक्षा गरेर अघि बढेको दाबी गरे। ‘हामी हिजोका राम्रा कामलाई निरन्तरता दिन्छौँ, कमजोरी सच्याउँछौँ र सफा गर्नुपर्ने ठाउँमा सफा गर्छौँ’, उनले भने, ‘देशलाई दुर्घटनातर्फ जान दिँदैनौँ, पाँच वर्ष स्थिर र सुशासित बनाउँछौँ।’

उनले वर्तमान राजनीतिक परिदृश्यमा दुई चरम प्रवृत्ति देखिएको बताए—एक यथास्थितिवादी सोच, जसले देशलाई अघि बढ्न नदिने; र अर्को उत्तेजना, आक्रोश र घृणामा आधारित राजनीति। ‘देश बनाउन पेटमा आगो र आँखामा सपना मात्र होइन, धैर्य, सोच्ने क्षमता र शान्ति पनि चाहिन्छ’ उनले भने।

उनले घर–घरमा पुगेर मतदातालाई कांग्रेसको सन्देश दिन कार्यकर्तालाई निर्देशन दिए। ‘बाँकी समय गाउँमा जानुहोस्, मतदाताको घरमा पुग्नुहोस् र पाँच वर्षको अवसर दिन आग्रह गर्नुहोस्’ उनले भने।