सामाजिक संजाल:

२०८२ फाल्गुन ४, सोमबार

सुर्खेत। आगामी फागुन २१ प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कर्णालीका केही क्षेत्रहरुमा रोमान्चक प्रस्तिपर्धा हुने भएको छ। दल विभाजन तथा अबसर खोज्दै एक दलबाट अर्को दलमा प्रवेश गरेर पूर्वसहकर्मीहरु आमनेसामने छन्।

कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्र मध्ये ९ वटा निर्वाचन क्षेत्रमा विभिन्न दलका पूर्वसहकर्मी उम्मेदवारबीच प्रतिष्ठाको लडाईँ हुने भएको छ। लामो समय एउटै पार्टी निर्माणमा काम गरेका नेताहरु आगामी निर्वाचनमा एकले अर्कालाई हराउँन चुनावी मैदानमा उत्रिएका छन्।

सुर्खेत–१
२ वटा निर्वाचन क्षेत्र रहेको सुुर्खेतमा नेपाली कांग्रेसमा लामो समय मिलेर काम गरेका चार जना फरक–फरक पार्टीबाट मुख्य प्रतिस्पर्धी बनेका छन्।

सुर्खेत–१ को कांग्रेस राजनीतिमा प्रभाव जमाउने टेकबहादुर सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट टिकट लिएर चुनावी मैदानमा छन्। उनले कांग्रेसका विष्णुबहादुर खड्कालाई चुनौती दिदैछन्। सिंह नेपाली कांग्रेसको क्षेत्रिय उपसभापति भएर काम गरिसकेका नेता हुन्।

कांग्रेसका निवर्तमान पार्टी उपसभापति पूर्णबहादुर खड्काको क्षेत्र भएकाले सुर्खेत–१ लाई विशेष महत्वका साथ हेरिएको छ। २०४८ यताका सबै निर्वाचनमा उम्मेदवार बन्ने गरेका उपसभापित खड्का यस पटक ब्याक भएका छन्।

पूर्णबहादुरले मैदान खाली गर्दा मौका पाएका उनका सहोदर कान्छा भाई विष्णुबहादुरलाई जित निकाल्न त्यति सहज भने छैन।

यस क्षेत्रमा यसअघिका निर्वाचनमा मुख्य प्रतिस्पर्धी कांग्रेस–एमाले हुन्। तर, पछिल्लो सयम नयाँ दलको लोकप्रियता यी दुवै दललाई भारी हुने निश्चित छ। खड्का र सिंह पहिलो पटक संसदीय निर्वाचनमा भाग लिदैछन्।

रास्वपाका सिंहले कांग्रेसका मत काट्ने अवस्था देखिए आफ्ना परम्परागत मत जोगाउन सके चुनावी मत परिणाम एमालेको पोल्टामा पर्ने आँकलन छ।

२०७९ को निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलबहरु मिलेर बनेको गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका पूर्णबहादुर खड्काले ४२ हजार ६०७ मत ल्याएर निर्वाचित भएका थिए।

एमालेका ध्रुबकुमार शाहीले ३० हजार ९८८ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मोहम्मद हसरत अलीले ८९७ मत पाएका थिए।

सुर्खेत–२
यस्तै, सुर्खेत–२ मा पनि कांग्रेसका पूर्वसहकर्मी चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेस वीरेन्द्रनगर नगर समितिको सचिव भएर काम गरेका यातायात व्यवसायी रमेश सापकोटा र नारायण कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ।

सुर्खेत–२ मा पनि यसअघिका निर्वाचनमा एमाले–कांग्रेस नै मुख्य प्रतिस्पर्धी हुन्। तर, यस पटक रास्वपा पनि सुर्खेतमा निर्णायक शक्ति बन्ने देखिन्छ। २०७९ को निर्वाचनसम्म आइपुग्दा सुर्खेत–२ मा एमाले र कांग्रेसले पालैपालो प्रतिनिधिसभाका निर्वाचन जित्दै आएका छन्।

२०७९ को निर्वाचनमा हृदयराम थानीले एमालेका अमृतकुमार बिसीलाई हराउँदै निर्वाचित भएका थिए।

त्यतिबेला कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समावादी गठबन्धनका साझा उम्मेदवार बनेका उनले ३४ हजार ६२५ मत पाएका थिए। उनका निकटतम प्रतिस्पर्धी बिसीले २९ हजार ५५८ मत ल्याएका थिए।

यस्तै, रास्वपाका उम्मेदवार टेकबहादुर चुनाराले ४ हजार ६०१ मत ल्याएका थिए।

दैलेख–१
दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा पनि पूर्वसहकर्मी बीच रोचक चुनावी प्रतिस्पर्धा हुँदैछ। दुवै निर्वाचन क्षेत्रमा एमालेका पूर्वसहकर्मी बीच चुनावी प्रतिस्पर्धा हुँदा कांग्रेस इतिहास रच्ने दाउमा छ।

रास्वपाले पुराना दललाई हायल कायल पारिरहेको छ। एमाले विभाजनपछि बनेको नेकपा एकिकृत समाजवादी र तत्कालिन नेकपा माओवादी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी पनि चुनावी मैदानमा छ।

एमालेले दैलेख–१ बाट रविन्द्रराज शर्मालाई उम्मेदवार बनाउँदा नेकपाबाट अमरबहादुर थापा छन्। शर्मा र थापा एमालेमा लामो समय मिलेर काम गरेका नेता हुन्। थापा एमाले विभाजनपछि समाजवादीतर्फ लागेका थिए। गएको निर्वाचनमा पनि शर्मा र थापा बीच नै प्रतिस्पर्धा भएको थियो।

२०७९ मा माओवादी–कांग्रेस लगायतका पाँच दल मिलेर बनेको गठवन्धनलाई कडा टक्कर दिएर शर्मा थापासँग झिनो मतान्तरले पराजित भएका थिए। शर्मा २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। यस पटकको निर्वाचनमा शर्मा र थापालाई अर्का सहकर्मीले पनि चुनौती दिदैछन्।

आगामी प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाउने छाट देखिएपछि रास्वपा प्रवेश गरेका नन्दकिशोर बस्नेत शर्मा र थापाका लागि चुनौती बनेर खडा भएका छन्।

बस्नेत एमालेबाट धेरै अवसर लिने मध्यका नेता हुन्। तर, उनले टिकट नपाएको झोकमा एमाले परित्याग गरेका थिए। दैलेखमा नेकपा र रास्वपा एमालेभन्दा कमजोर छन्। तर, थापा र बस्नेतले एमालेका भोट काट्दा कांग्रेसलाई फाइदा हुने देखिन्छ।

दैलेख–२
दैलेख–२ मा पनि एमालेका पूर्वसहकर्मी बीच चुनावी प्रतिस्पर्धा हुँदैछ। गएको निर्वाचनमा कांग्रेस–माओवादीको गठवन्धनलाई कडा चुनौती दिएका एमालेका लक्ष्मीप्रसाद पोखरेल चुनावी मैदानमा छन्।

गठवन्धनबाट उम्मेदवार बनेका कांग्रेसका दिक्पालकुमार शाहीसँग एक सय ५३ मतले पोखरेल पराजित भएका थिए। आगामी निर्वाचनमा पनि पोखरेल र शाही बीच नै मुख्य प्रतिस्पर्धा हुनेछ।

सांगठनिक मत कमजोर रहेको नेकपाबाट उम्मेदवार बनेका योगेन्द्रबहादुर शाही पोखरेलको चुनौती बन्ने देखिन्छ। पोखरेल र नेकपाका शाही एमालेमा लामो सयम मिलेर काम गरेका पूर्वसहकर्मी हुन्।

२०७९को प्रदेशसभा सदस्यको टिकट नपाएपछि शाही तत्कालिन माओवादीमा प्रवेश गरेका थिए। तर, शाहीलाई एमालेका विनोदकुमार शाहले पराजित गरिदिएका थिए।

उनै शाही अहिले प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेको भोट काट्न सक्ने मुख्य पात्र बनेर उभिएका छन्। शाहीले एमालेका भोट काटे दैलेख–२ मा पनि कांग्रेसको पल्लाभारी हुने आँकलन छ । पोखरेल २०७०को संविधानसभा सदस्यमा निर्वाचित भएका थिए।

कालीकोट
कालीकोटमा पनि पूर्वमाओवादीका दुई सहकर्मीबीच प्रतिस्पर्धा हुँदैछ। २०६४ यताका संसदीय निर्वाचन बहिष्कार गरेर नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीमा लागेका खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) पुनः निर्वाचनमा फर्किएपछि पूर्व जनमुक्ति सेनाका कमाण्डर मेहेन्द्रबहादुर शाही अफ्ठेरोमा परेका छन्।

प्रकाण्डले संसदीय निर्वाचन बहिष्कारको बाटो रोजेपछि शाही २०७० को दोस्रो संविधानसभा निर्वाचन यता कालीकोटबाट अविजित रहदै आएका छन्। शाही २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्रीकोरुपमा नाम लेखाएका थिए।

त्यसपछि उनि २०७९ को निर्वाचनमा कालीकोटबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए। आगामी निर्वाचनमा कालीकोटमा पूर्वसहकर्मीबीचको भिडन्त पनि रोचक बन्ने भएको छ।

जुम्ला
यस्तै, जुम्लामा पनि आगामी निर्वाचनमा पूर्वसहकर्मीबीच चुनावी प्रतिस्पर्धा हुनेछ। माओवादीको १० वर्षे युद्धदेखिनै सहयोद्धा रहेका नेरश भण्डारी र मनऋषी धिताल दुई खेमाबाट चुनाव लड्दै छन्।

भण्डारी नेकपाको तर्फबाट उम्मेदवार बन्दा धिताल जनार्दन शर्माको प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट चुनावी मैदनमा छन्। भण्डारी यसअघि २०६४ मा संविधासभा र २०७४ को प्रदेशसभामा निर्वाचित भएका थिए भने धिताल पहिलो पटक संसदीय निर्वाचनमा सहभागी हुँदैछन्।

मुगु
यस्तै, मुगुमा एमालेका पूर्वसहकर्मीहरु बीच चुनावी प्रतिस्पर्धा हुँदैछ। मुगुमा एमालेका पूर्णबहादुर रोकाया र समाजवादीका चन्द्रबहादुर शाही बीच प्रतिस्पर्धा हुनेछ। शाही तत्कालिन एमाले विभाजनपछि समाजवादीमा लागेका थिए। उनी अहिले नेकपाको तर्फबाट उम्मेदवार बनेका छन्।

शाही २०७४ मा एमालेबाट प्रदेशसभामा निर्वाचित भएका थिए। शाही तत्कालिन समयमा एमालेको ह्वीपविरुद्ध फलोरक्रस गरेर विवादमा आएका पात्र हुन्।

शाही कर्णाली सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भइसकेका नेता हुन्। एमालेका रोकाया पहिलो पटक निर्वाचनमा होमिएका छन्।

डोल्पा
एक निर्वाचन क्षेत्र रहेको डोल्पामा एमालेका लंकबहादुर रोकाय र नेकपाका धनबहादुर बुढा पूर्वसहकर्मी हुन्। बुढा एमाले विभाजनपछि समाजवादीमा लागेका थिए।

बुढा २०७० को संविधानसभा, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा डोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए भने रोकाय पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्न लागेका छन्।

डोल्पामा पूर्वसहकर्मीबीच मात्रै रोचक चुनावी प्रतिस्पर्धा छैन। सहोदर दुई भाई फरक–फरक पार्टीबाट यस पटक चुनावी प्रतिस्पर्धा गर्दैछन्। नेपाली कांग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका कर्णबहादुर बुढा पनि चुनावी मैदानमा छन्।

नेकपाका धनबहादुर र कांग्रेसका कर्णबहादुर सहोदर दुई भाई हुन्। दुईभाइबीचको चुनावी भडिन्तमा एमालेका रोकायाले दाउ पर्खेएका छन्। उनि पहिलो पटक चुनावी मैदानमा छन्।

रुकुमपश्चिम
यस्तै, रुकुम पश्चिममा पनि लामो सयम एउटै पार्टीमा रहेर काम गरेका सहकर्मीहरुबीच चुनावी प्रतिस्पर्धा हुँदै । त्यो पनि गुरु चेलाबीच।

रुकुम पश्चिम तत्कालिन नेकपा माओवादीको पकड क्षेत्र हो। यस क्षेत्रबाट निरन्तर माओवादीबाट संसदीय चुनावमा अविजत रहने पात्र हुन्, जनार्दन शर्मा। तर, अहिले उनै शर्मालाई गोपाल शर्माले चुनौती दिदैछन्। जनार्दन गृहमन्त्री रहँदा उनको सचिवालयमा रहेर काम गरेका गोपाल अहिले जनार्दनका मुख्य प्रतिस्पर्धी बनेका छन्।

जनार्दनकै जोडबलमा गोपल २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए। माओवादीभित्र पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको मुद्दा पेचिलो बनाएका जनार्दनले पार्टी छाडेपछि गोपाल सतहमा आएका हुन्।

जेन–जी आन्दोलनपछि तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड)ले माओवादी त्यागेर समाजवादीलगायतका कम्युनिष्ट घटकसँग एकता गरेपछि जनार्दन अलग भएका थिए।

प्रचण्डसँग अलग भएपछि बाबुराम भट्टराईको संरक्षणमा रहेको प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा)मा लागेका जनार्दन यस पटक चुनाव चिन्ह आँखाबाट चुनावी मैदानमा छन्। रुकुम पश्चिममा एमालेले जर्नादनलाई सघाएको छ।