सुर्खेत। कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको राहत, उद्धार, पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
प्रदेश सरकारको भदौ १६ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।
बैठकले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै पुनर्स्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाइएको छ।
यस्तै, बैठकले सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको ‘शिक्षा क्षेत्र योजना २०८३–२०९२’ समेत स्वीकृत गरेको छ।
दश वर्षे उक्त शिक्षा क्षेत्र योजनाले कर्णाली प्रदेशको शिक्षा क्षेत्रको विकास, सुधार तथा आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

