२०८३ असार ३०, मंगलवार

दैलेख। दैलेखको महाबु गाउँपालिकाले विभिन्न पद रिक्त रहेकाले कर्णाली प्रदेशअन्तर्गतका स्थानीय तहमा कार्यरत कर्मचारीलाई सरुवा सहमतिमार्फत पदपूर्तिका लागि आवेदन दिन सूचना प्रकाशित गरेको छ।

गाउँ कार्यपालिकाको कार्यालय, गैडाबाजले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार इच्छुक कर्मचारीले आफू हाल कार्यरत कार्यालयको सरुवा सहमति पत्रसहित २०८३ साल साउन पहिलो साताभित्र निवेदन पेश गर्नुपर्नेछ।

सूचनाअनुसार सरुवा सहमतिका लागि माग गरिएका पदहरूमा सातौं तहका शाखा अधिकृत २ जना, पाँचौं/छैटौं तहका वरिष्ठ प्रशासन सहायक/प्रशासकीय अधिकृत २ जना, पाँचौं/छैटौं तहका सब–इन्जिनियर/इन्जिनियर (सिभिल) २ जना, पाँचौं तहका प्राविधिक सहायक (कृषि) १ जना, चौथो तह इन्जिनियरिङ्ग समूहका असई २ जना, चौथो तहका प्रशासन सहायक १ जना र चौथो तहका अहेव १ जना रहेका छन्।

गाउँपालिकाले सब–इन्जिनियर/इन्जिनियर (सिभिल) र प्रशासन सहायक पदमा यसअघि एक–एक जना कर्मचारीको सरुवा सहमति भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले जानकारी दिए।

उनकाअनुसार समयभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्न सम्बन्धित कर्मचारीलाई गाउँपालिकाले अनुरोध  गरेकाे छ।