विपद् जोखिम न्यूनिकरण र वातावरण संरक्षण गर्ने उदेश्य

२०८३ असार २०, शनिबार

पञ्चपुरी। पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–१० को जामु रिभर एरिया र जनज्योति मावि कम्पाउन्डिङ एरिया बाघबजार क्षेत्रमा गरी १ हजार २ सय बिरुवा रोपिएको छ।

‎आवाज संस्था र टिडिएप मिसेरिओर र केजेडईको संयुक्त साझेदारीमा सञ्चालित नेपालको पश्चिम क्षेत्रमा महिला तथा बालबालिका, विशेषगरी किशोरीहरूलाई आफ्ना अधिकार सुनिश्चित गर्न तथा सेवाहरूमा पहुँच प्राप्त गर्न सशक्त बनाउने परियोजना अन्तरर्गत वृक्षरोपण गरिएको हो।

उक्त कार्यक्रममा डिभिजन वन कार्यालय भेरी, बाबियाचौर, सुर्खेतको समन्वय तथा सहकार्य रहेको थियो।

‎वातावरण संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा विपद् जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको वृक्षरोपण कार्यक्रममा वनजन्य, फलफूल, सौन्दर्यमूलक तथा बहुमूल्य जडीबुटीजन्य प्रजातिका कागती, बाँस, अम्रिसो, मसला, बेलौती, अमला, धुपी, कल्की, बेल, सितल चिनी, गुलमोहर, टांकी, सिरिस, कपूर, बकाईनो, रिठ्ठा, सिसौ लगायतका बिरुवा रोपिएका छन्।

‎यस अभियानअन्तर्गत करिब ३.७५ हेक्टर क्षेत्रफलको केही भाग मा वृक्षारोपण गरिएको छ भने उक्त क्षेत्र संरक्षणका लागि डिभिजन वन कार्यालय भेरी, बाबियाचौर ले बाउन्ड्री निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ।

वृक्षारोपण कार्यको बिरुवा वृक्षारोपण र खाल्डो खन्न र त्यसमा हाल्ने मल, माटोको लागी आर्थीक सहयोग समन्वय तथा कार्यान्वयन भने आवाज संस्थाले गरेको हो।

‎रानीवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम ढकालले वृक्षरोपण कार्यक्रमलाई वातावरण संरक्षण, जैविक विविधताको संरक्षण तथा विपद् जोखिम न्यूनीकरणका लागि महत्त्वपूर्ण अभियान भएको बताए।

उनले वन संरक्षण केवल उपभोक्ता समितिको मात्र जिम्मेवारी नभई सम्पूर्ण समुदायको साझा दायित्व भएको उल्लेख गरे।

यस्तै, पञ्चपुरी नगरपालिका–१० नम्बरकी वडासदस्य पवित्रा कडाराले वृक्षरोपण कार्यक्रम वातावरण संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा विपद् जोखिम कम गर्न महत्त्वपूर्ण रहेको बताइन्।

उनले हरियाली प्रवर्द्धनका लागि स्थानीय सरकार, सामुदायिक वन, विभिन्न संघसंस्था र समुदायबीचको सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।

‎वृक्षारोपण कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय भेरी, बाबियाचौरका सूचना अधिकारी शेरबहादुर रोकायले वृक्षारोपणको महत्त्व बुझ्न र संरक्षणमा सबैले जिम्मेवार भूमिका खेल्न आग्रह गरे। उनले आफ्नो वन डिभिजनबाट आगामी वर्षहरूमा पनि सहयोग रहने प्रतिबद्धता जाहेर गरे।

‎विपद्सँग जुध्न सिक्दै नयाँ पुस्ता

‎कर्णाली प्रदेश बाढी, पहिरो, वन डढेलो तथा जलवायु परिवर्तनका कारण सिर्जित विभिन्न विपद्को उच्च जोखिममा रहेको क्षेत्र भएकाले परियोजनाले युवाहरूलाई विपद् तयारी तथा प्रतिकार्यसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने लक्ष्य लिएको आवाज संस्थाका सामाजिक परिचालक तेजबहादुर राेकायले बताए।

‎आवाजले हरेक वर्ष पञ्चपुरी नगरपालिकाको बाढि, पहिरो र भुक्षयको जोखिम रहेका क्षेत्रहरुको पहिचान गरि २ स्थानमा वृहत वृक्षारोपण गर्ने र ३ वर्षमा करिब ३६०० विरुवा रोपण गर्ने लक्ष लिएको छ।

यसअन्तर्गत प्रत्येक वर्ष २५ जना युवालाई विपद् अनुकरण तालिम प्रदान गरिनेछ। तीन वर्षको अवधिमा ७५ जना युवाले विपद्को समयमा सुरक्षित रहने उपाय, उद्धार तथा राहतमा सहयोग गर्ने विधि र समुदायलाई सचेत गराउने विषयमा प्रत्यक्ष अभ्याससहितको तालिम प्राप्त गर्नेछन्।

‎परियोजनाले स्थानीय सरकारसँगको सहकार्यमा विपद् प्रतिकार्य सामग्री खरिद गरी सम्बन्धित वडा कार्यालयहरूमा भण्डारण गर्ने व्यवस्था मिलाउनेछ।

विशेष गरी विपद्को उच्च जोखिममा रहेका चार वडालाई प्राथमिकताका साथ आवश्यक सामग्री उपलब्ध गराइने योजना रहेको छ।

‎पालिकाको विपद शाखा, डिभिजन वनकार्यालय र स्थानीय युवाको सहभागितामा बाढि, पहिरो र भुक्षय क्षेत्रको नक्शांकन गर्ने परियोजनाको अर्को महत्वपूर्ण पक्ष युवाहरूलाई आफ्नै समुदायको जोखिम पहिचान तथा व्यवस्थापन प्रक्रियामा सहभागी गराउनु हो।

समूहमा आबद्ध युवाहरूले बाढी, पहिरो तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूको पहिचान गरी सामुदायिक जोखिम नक्सा तयार गर्नेछन्।

यस प्रक्रियाले स्थानीय बासिन्दालाई सुरक्षित स्थानहरूको जानकारी दिनुका साथै विपद्को समयमा द्रुत प्रतिकार्य योजना निर्माण गर्न महत्वपूर्ण सहयोग पुग्नेछ। जोखिम नक्सांकनमा युवाहरूको प्रत्यक्ष सहभागिताले उनीहरूमा जिम्मेवारीबोध र समुदायप्रतिको अपनत्वसमेत वृद्धि भएको छ।

‎वृक्षारोपणबाट हरित भविष्यको आधार

‎परियोजनाले जलवायु परिवर्तनका असर न्यूनीकरण, वातावरण संरक्षण, भूक्षय नियन्त्रण तथा हरित क्षेत्र विस्तारलाई प्राथमिकतामा राख्दै वृक्षारोपण अभियान सञ्चालन गरेको हो।

यस अभियानमा युवाहरूको सक्रिय नेतृत्व रहनेछ, जसले वातावरण संरक्षणसँगै समुदायमा दिगो विकास र विपद् न्यूनीकरणको आधार निर्माण गर्ने विश्वास गरिएको छ।

‎आयोजक संस्थाहरूका अनुसार यस प्रकारका कार्यक्रमले वातावरण संरक्षण मात्र नभई युवाहरूको नेतृत्व विकास, सामुदायिक सहभागिता, विपद् तयारी तथा प्राकृतिक स्रोत संरक्षणमा समेत दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

सुर्खेत जिल्लामा भेरी नदीमा आएको बाढिले पञ्चपुरी नगरपालिका–१० जामुमा रहेको रानीवन सामुदायिक वन वनमा भएको विपद्बाटको क्षति यो वृक्षरोपण कार्यक्रमले पुर्नजागरण गर्ने लक्ष लिएको छ।