काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन र सञ्चालनका विषयमा सहमति भएको छ। दुवै दलका शीर्ष नेताले हस्ताक्षर गरेको सहमति पत्र सार्वजनिक भएको हो।
सहमति पत्रमा प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेट विनियोजनका अवरोध तथा राजनीतिक प्रतिस्पर्धाबाट सिर्जित समस्याको समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता दिने उद्देश्यले सहमति गरिएको उल्लेख छ।
सहमतिअनुसार प्रदेश सभाहरूमा दुवै दलले सहकार्य गर्ने र संयुक्त सरकार गठन गर्ने भएका छन्।
सहमति पत्रमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने उल्लेख गरिएको छ।
यस्तै, मधेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति भएको छ।
सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन्।





