सामाजिक संजाल:

२०८२ चैत्र २३, सोमबार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समग्र विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको नवौं सभालाई सम्बोधन गर्दै कँडेलले कर्णालीमा लगानीका प्रशस्त सम्भावना भए पनि अपेक्षित रूपमा निजी क्षेत्रको संलग्नता हुन नसकेको उल्लेख गरे।

मुख्यमन्त्री कँडेलले कर्णाली प्राकृतिक स्रोत, कृषि, पर्यटन तथा जलस्रोतका दृष्टिले धनी प्रदेश भएको भन्दै यिनै क्षेत्रलाई आधार बनाएर आर्थिक विकासको ढोका खोल्न सकिने बताए।

‘कर्णालीमा अवसर धेरै छन्, तर ती अवसरलाई पहिचान गरेर लगानी गर्न आवश्यक छ,’ उनले भने, ‘निजी क्षेत्रले जोखिम लिन सके प्रदेशको आर्थिक समृद्धि सम्भव छ।’

उनले परम्परागत रूपमा तयारी वस्तु बेच्ने प्रवृत्तिबाट बाहिर निस्केर उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।

‘हामीले उत्पादन बढाउन सके मात्रै आत्मनिर्भर बन्न सक्छौं,’ कँडेलले भने, ‘कृषि, जडीबुटी, जलविद्युत र पर्यटनमा ठूलो सम्भावना छ, यसमा निजी क्षेत्रले लगानी बढाउनु पर्छ।’

साथै उनले सरकार निजी क्षेत्रलाई आवश्यक सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता जनाए।