सामाजिक संजाल:

२०८२ चैत्र २, सोमबार

सुर्खेत । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐनको स्थानीयकरण र यसको प्रभावकारी अभ्यास प्रवर्द्धनका लागि कर्णाली प्रदेशमा प्रदेश स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल कर्णाली प्रदेशको आयोजनामा भएकाे कार्यक्रममा महासंघका कर्णाली प्रदेश अध्यक्ष सन्तबहादुर केसीको अध्यक्षता रहेको थियो भने कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकाया प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत महेशकुमार बस्नेतले निर्देशनालयले हालसम्म कृषि तथा किसानको क्षेत्रमा गरेका गतिविधि र उपलब्धिबारे प्रस्तुति गरेका थिए।

उनले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन कार्यान्वयनका लागि स्थानीय तहसँग समन्वय गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।

नीति संवादमा कृषक, सरोकारवाला निकाय तथा विभिन्न संस्थाका प्रतिनिधिहरूले ऐनको स्थानीयकरण, कार्यान्वयनका चुनौती र समाधानका उपायबारे छलफल गरेका थिए।

कार्यक्रमकै अवसरमा वीरेन्द्रनगर नगरपालिकामा राष्ट्रिय कृषक समूह महासंघको पालिका स्तरीय समिति समेत गठन गरिएको महासंघका कर्णाली प्रदेश अध्यक्ष सन्तबहादुर केसीले जानकारी दिए।

नीति संवादले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐनलाई स्थानीय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।