काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले काठमाडौँ उपत्यकाका नदीकिनारमा बसोबास गर्दै आएका नागरिकहरूको दीर्घकालीन समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
उनले हरेक वर्ष बाढीका कारण नदीकिनारमा बसोबास गर्ने हजारौँ नागरिकले ज्यान जोगाउन मात्र सफल हुँदै आफ्ना सम्पूर्ण सामान छाडेर भाग्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गर्दै अब यस्तो जोखिमपूर्ण अवस्थालाई अन्त्य गर्न आवश्यक भएको बताए।
शाहले जोखिममा रहेका बस्तीलाई वर्षौँदेखि बेवास्ता गर्दै राख्नु उचित नभएको जनाउँदै ती नागरिकहरूको सुरक्षित बसोबासको व्यवस्था मिलाउनु राज्यको दायित्व भएको स्पष्ट पारे। “उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही अवस्थामा राख्नु उचित होइन, सुरक्षित स्थानमा व्यवस्थापन गर्नु नै उनीहरूको अधिकार हो,” उनले भने।
उनका अनुसार नदी तथा खोला किनारमा अव्यवस्थित बस्तीका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुग्दा उपत्यका प्रदूषित बन्दै गएको छ। त्यसैले थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका जोखिमयुक्त बस्तीहरूलाई मानवीय ढंगले, बल प्रयोग नगरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
शाहले आफूले उम्मेदवारका रूपमा गरेको प्रतिबद्धता, राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र तथा सरकारका ‘१०० दिनका प्राथमिकता’ अन्तर्गत सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण नियन्त्रणसम्बन्धी योजनालाई कार्यान्वयन गर्ने तयारी भइरहेको बताए।
उनले काठमाडौँका नदीकिनारमा रहेका बस्ती र देशभरका वास्तविक सुकुम्बासीको समस्या फरक रहेको उल्लेख गर्दै अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याएर मात्रै समाधान खोजिने बताए। “देशभरका वास्तविक सुकुम्बासीलाई प्रक्रिया पूरा गरेर यथाशीघ्र जग्गा वितरण गर्नेछौँ,” उनले भने।
शाहले वर्षौँदेखि जटिल बनेको सुकुम्बासी समस्याको स्थायी समाधान वर्तमान सरकारले गर्ने दाबी गर्दै नागरिकलाई ढुक्क हुन आग्रह गरेका छन्।
