कालिकोट। रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि कालिकोटको शुभकालिका गाउँपालिकाले २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
शुभकालिका गाउँपालिकाको कार्यालयले २०८३ भदौ १५ गते जारी गरेको विज्ञप्तिअनुसार बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको हो।
गाउँपालिकाले प्राकृतिक विपत्तिका कारण कतिपय परिवारले आफन्त गुमाउनुका साथै घरबार तथा जीवनभरको मेहनतले जोडेको सम्पत्ति क्षणभरमै गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरेको छ। बाढीबाट भएको क्षतिले पीडित परिवारमा गहिरो पीडा र अकल्पनीय क्षति पुगेको भन्दै गाउँपालिकाले शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विपत्तिको कठिन घडीमा एकअर्काको आँसु पुछ्ने, पीडामा मलम लगाउने र मानवीय कर्तव्य निर्वाह गर्नु सबैको सामाजिक दायित्व भएको गाउँपालिकाले जनाएको छ। सहयोग रकम ठूलो विपत्तिको तुलनामा सानो भए पनि पीडित नागरिकप्रति साथ, सहानुभूति र मानवीय जिम्मेवारीको प्रतीक भएको विज्ञप्तिमा उल्लेख छ।
गाउँपालिकाले बाढी प्रभावितहरूको उद्धार, राहत, उपचार तथा पुनर्स्थापनाको कार्यलाई प्रभावकारी बनाउन तीनै तहका सरकार, सुरक्षा निकाय, सामाजिक संघ–संस्था, निजी क्षेत्र तथा सम्पूर्ण नागरिकलाई एकताबद्ध भएर सहयोग गर्नसमेत आह्वान गरेको छ।
गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद आचार्य, उपाध्यक्ष धर्मकला शाही र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रप्रसाद चौलागाईंद्वारा जारी विज्ञप्तिमा विपत्तिबाट प्रभावित नागरिकमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् तथा प्रभावित परिवारलाई शीघ्र पुनर्स्थापित गरी सामान्य जनजीवनमा फर्कने वातावरण निर्माण होस् भन्ने कामना गरिएको छ।






