२०८२ चैत्र १८, बुधबार

सुर्खेत। नेकपा एमाले निकट जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)का कर्णाली प्रदेश संयोजक धर्मबहादुर शाहीले एमाले विभाजनको हल्ला निराधार रहेको बताएका छन्।

उनले घण्टीमा भोट हाल्नेहरूले एमाले सकिन्छ भन्ने चिन्ता लिएको भन्दै त्यसलाई “नौटङ्गी” को संज्ञा दिए। शाहीले कठिन अवस्थामा पार्टीलाई काँध हालेर उठाएका रामबहादुर थापा ‘बादल’ लाई पछिल्लो समय सौताको व्यवहार गरिएको भन्दै आलोचना भएको स्मरण गरे।

उनले माओवादी पृष्ठभूमिका केही कार्यकर्तामा असन्तुष्टि देखिए पनि बादलले आफ्नो निष्ठा नत्यागेकाे बताए। “जनयुद्धको नेतृत्व गरेर आएका प्रभावशाली नेता बादल लामो समय गुमनाम भए, माओवादीहरूले समेत आलोचना गरे, तर उहाँ पद लोलुपतामा लाग्नुभएन,” शाहीले भने।

शाहीले एमाले कार्यकर्ताले नै भारी मतका साथ बादललाई उपाध्यक्षमा निर्वाचित गराएको दाबी गरे। “यो जित माओवादी पृष्ठभूमिको होइन, उहाँको पार्टीप्रतिको निष्ठाको परिणाम हो,” उनले उल्लेख गरे।

त्यसैगरी उनले सुहाङ्ग नेम्वाङ कमजोर भएको भन्ने भ्रम त्याग्न आग्रह गर्दै नेम्वाङले आगामी दिनमा अनुभव बटुल्दै पार्टीभित्र आफ्नो भूमिका बलियो बनाउनु पर्ने बताए।

शाहीले अहिलेको समय एमालेभित्र विभाजन होइन, एकता आवश्यक रहेको उल्लेख गर्दै पार्टीका निर्णय स्वीकार गरेर एकढिक्का भएर अघि बढ्न सबैलाई आग्रह गरे।