सामाजिक संजाल:

२०८२ माघ १९, सोमबार

सुर्खेत। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मुगुबाट सात उम्मेदवार मैदानमा छन्। नेपाली काँग्रेसबाट खड्कबहादुर शाही उम्मेदवार छन्। नेकपा एमालेले पुर्णबहादुर रोकायालाई उठाएको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट चन्द्रबहादुर शाही मैदानमा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट भुवन टमटा, नेकपा (माओवादी)बाट रंगविर परियार, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट एैटन मल्ल र राष्ट्यि प्रजातन्त्र पार्टी (राप्रपा) बाटबलबहादुर मल्ल छन्।

१ वटा मात्रै निर्वाचन क्षेत्र रहेको मुगुमा आगामी निर्वाचनका लागि ३६ हजार ३१ मतदाता छन् भने ६७ मतदानस्थल र ६९ वटा मतदान केन्द्र तोकिएका छन्। मुगुमा एक नगरपालिका र तीन गाउँपालिका गरी ४ वटा मात्रै स्थानीय तह छन्।

आगामी निर्वाचनमा मुगुमा मुख्य दलहरु एमाले, काँग्रेस र नेकपाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। जसलाई राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलका उम्मेदवारले चुनौती दिएका छन्।

नेकपाबाट उम्मेदवार चन्द्रबहादुर २०५६ सालको निर्वाचनमा प्रतिनिधिसभा र २०७४ को निर्वाचनमा प्रदेशसभातर्फ नेकपा एमालेबाट जित निकालेका थिए। प्रदेशसभामा जितेका उनले कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी समेत समालिसकेका छन्। एमाले पृष्ठभूमी भएका शाही यसपटक नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका पार्टीहरु मिलेर बनेको नेकपाबाट उम्मेदवार छन्।

हाल नेकपाको केन्द्रीय सदस्य रहेका शाही एमाले विभाजनपछि माधवकुमार नेपाल नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी हुँदै नेकपामा पुगेका हुन्। उनि २०७९ को निर्वाचनमा पनि उम्मेदवार बन्न चाहन्थ्ये। तर, काँग्रेस, माओवादी, एकीकृत समाजवादी लगायत दलहरु मिलेर बनेको लोकतान्त्रिक बामगठबन्धन भन्दा काँग्रेसको भागमा मुगु परेपछि शाही पछि हट्नु परेको थियो।

यसअघि प्रतिनिधिसभा निर्वाचन २०५६ र प्रदेशसभा निर्वाचन २०७४ मा जिल्लावासीको अपार माया, स्नेह र भरोसाका कारण विजयी भएको स्मरण गराउँदै उनले अधुरा विकास योजनालाई पूर्णता दिन पुनः उम्मेदवारी दिएको बताए।

‘सडक, पुल, यातायात, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा बस्ती विकासलाई प्राथमिकतामा राखेको छु’ ‘उम्मेदवारी शाहीले भने, ‘नाग्म–गमगडी, गमगडी–ताल्चा, ताल्चा विमानस्थल, मुगु–रारा पर्यटकीय सडक, दोमुख–तारापानी–नाचेलगढ सडक, रारा–छायानाथ पर्यटकीय मार्गलगायत पूर्वाधार विकासका कामलाई तीव्रता दिने मेरो प्रतिबद्धता छ।’

यस्तै, काँग्रेस उम्मेदवार खड्गबहादुर शाही र एमालेका पूर्णबहादुर रोकाया पहिलोपटक संसदीय प्रतिस्पर्धामा सहभागी हुँदै छन्। दुवैजनाले शाहीको संसदीय यात्रामा ब्रेक लगाएर आफु अगाडी आउने विषमा विभिन्न रणनीति बनाइरहेका छन्।

काँग्रेस उम्मेदवार शाही पूर्वपार्टी जिल्ला सभापति हुन्। जिल्लाको विकास समग्र विकास र जनजीविकाका सवाललाई संसदसम्म पु¥याउन आफूले उम्मेदवारी दिएको बताए। ‘अझै पनि जनताका समस्यालाई संघीय सरकारले बेवास्ता गरिरहेको छ, ती समस्या समाधानका लागि सरकारको ध्यानकर्षण गराउन जरुरी छ,’ उनले भने, ‘सडक, शिक्षा, स्वास्थ्य र रोजगारीलाई पनि प्राथमिकतामा राखेको छु।’

गत प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसका जिल्ला सभापति ऐनबहादुर शाही विजयी भएका थिए। काँग्रेस पुरानो विरासत जोगाउने दाउमा छ। दलहरु एक्ला–एक्लै मैदानमा हुँदा ०७९ को निर्वाचनमा भएको लोकतान्त्रि बामगठबन्धनबाट चुनाव जित्नजस्तो यसपटक काँग्रेसलाई सजिलो भने छैन्।

एमाले उम्मेदवार रोकाया एमाले जिल्ला अध्यक्ष हुन्। उनी यसअघि जिल्ला समन्वय समितिको प्रमुख थिए। मुगुलाई समृद्ध जिल्लाका रूपमा विकास गर्ने लक्ष्यसहित पहिलोपल्ट संसदीय चुनावी मैदान होमिएको बताए।

उनले भने, ‘जिसस प्रमुख हुँदा जनताका समस्याहरु नजिकबाट बुझने मौका पाए। तर, त्यहाँबाट पुरा गर्ने ठाउँ थिएन्। अब प्रतिनिधिसभामा निर्वाचित भएपछि ती समस्या समाधानका लागि आवश्यक कानुन निर्माण र कार्यान्वयनमा मेरो भूमिका हुनेछ।’

एमाले उम्मेदवार रोकयाले मतदातासँग दैनिकी साक्षत्कार गर्दै चुनावी अभियानलाई तिब्र पारेको दाबी गरे।

प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस उम्मेदवार ऐनबहादुर शाही १४ हजार ७ सय ६ मतसहित विजयी बनेका थिए। गठबन्धनबाट उम्मेदवार बनेका शाही एमालेका उम्मेदवार राजबहादुर कार्की (राजु)लाई पराजित गरेका थिए।

कार्कीले १० हजार ७१० मत प्राप्त गरेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका राजबहादुर मल्लले २९९ मत पाए।

४ स्थानीय तह रहेको मुगुमा २०७९ बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा २ स्थानीय तहको प्रमुख र अध्यक्ष काँग्रेसले तथा २ प्रमुख तथा अध्यक्ष नेकपाले जितेको छ भने ३ उपप्रमुख÷उपाध्यक्ष काँग्रेसले र एमालेले एक ठाउँमा जितेको छ।

समानुपातिकतर्फ दलहरुले पाएको मत हेर्दा २ सय मतले नेकपा एमाले अगाडी छ। एमालेले ८ हजार ६४३, काँग्रेसले ८ हजार ४४० मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)को संयुक्तमा ४ हजार ६५०, नेकपा एकीकृत समाजवादीले २ हजार ६१२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३६८ र राष्ट्रिय स्वतन्त्र पार्टी २१० मत पाएको छ।