सामाजिक संजाल:

२०८२ माघ २७, मंगलवार

काठमाडौँ। न्युजिल्यान्डका ओपनरद्वय टिम सेफर्ट र फिन एलनको कीर्तिमानी साझेदारीपछि युनाइटेड अरब इमिरेट्स यूएईलाई १० विकेटले पराजित भएको छ। आइसिसि टी–२० विश्वकपको इतिहासमा न्युजिल्यान्डले १० विकेटको जित निकालेको यो पहिलो पटक हो।

समग्रमा विश्वकप इतिहासमा १० विकेटको जित दर्ता भएको यो छैटौँ अवसर हो। यसअघि अस्ट्रेलिया, दक्षिण अफ्रिका, ओमान, पाकिस्तान र इंग्ल्यान्डले यस्तो जित निकालेका थिए।

मंगलबार भारतको चेन्नाईस्थित एमए चिदम्बरम रंगशालामा सम्पन्न खेलमा यूएईले दिएको १७४ रनको लक्ष्य न्युजिल्यान्डले आक्रामक ब्याटिङ गर्दै १५.२ ओभरमा विकेट नगुमाई पूरा गर्‍यो।

न्युजिल्यान्डको जितमा टिम सेफर्टले ९१ रन बनाए। उनले ४२ बलमा १२ चौका र तीन छक्का प्रहार गर्दै २११ को स्ट्राइक रेटमा ब्याटिङ गरे।

अर्का ओपनर फिन एलनले ५० बलमा पाँच चौका र पाँच छक्कासहित ८४ रन जोडे।

यूएईविरुद्ध न्युजिल्यान्डका ब्याट्सम्यान रोक्न कुनै पनि बलर सफल भएनन्।

यूएईले प्रयोग गरेका पाँच बलरमध्ये हैदर अलीको मात्रै इकोनोमी ११ रनभन्दा कम रह्यो। यसअघि टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो।

कप्तान मोहम्मद वसिमले सर्वाधिक ६६ रन बनाए। उनले ४५ बलमा चार चौका र तीन छक्का प्रहार गरे। अलिसन सराफुले पनि अर्धशतक प्रहार गर्दै ४७ बलमा पाँच चौका र दुई छक्कासहित महत्वपूर्ण योगदान दिए। १२–१ को कठिन अवस्थामा वसिम र सराफुले १०७ रनको साझेदारी गर्दै यूएईको इनिङ्स सम्हालेका थिए।

मयंक कुमारले २१ रन जोडे भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। न्युजिल्यान्डका म्याट हेनरीले दुई विकेट लिए।

चार ओभरमा ३७ रन खर्चिएका उनलाई ज्याकोब डफी, लाकी फर्गुसन, मिचेल सेन्टनर र ग्लेन फिलिप्सले एक(एक विकेट लिएर साथ दिए।

यो जितसँगै न्युजिल्यान्डले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। यसअघि उसले अफगानिस्तानलाई पाँच विकेटले हराएको थियो।

न्युजिल्यान्डले यससँगै सुपर ८ मा पुग्ने सम्भावनालाई बलियो बनाएको छ।

यूएईको भने यो प्रतियोगिताको पहिलो खेल हो।