सुर्खेत। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुर्खेतमा नेकपा एमालेमा प्रवेश गर्ने लहर चलेको छ। सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा बिहीबार मात्रै २५ घरपरिवारका दर्जनौं व्यक्तिहरू एमाले प्रवेश गरेका छन्।
पूर्वी सुर्खेतको लेकबेशी–१०, बडीपाटी र लेकबेशी–९, रातटाँडीलगायतका विभिन्न स्थानमा नेपाली कांग्रेस परित्याग गरी एमाले प्रवेश गर्नेहरुमा अधिकांश युवाहरू छन्।
मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको ठहर गर्दै कांग्रेस परित्याग गरेको उनीहरुले बताएका छन्। चुनावी अभियानका क्रममा मतदाता भेटघाटका लागि घरदैलो गरिरहेका एमाले उम्मेदवार धुव्रकुमार शाहीसहितका नेताहरुले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।
एमाले उम्मेदवार शाहीले आफूहरुप्रति मतदाताहरुको साथ, समर्थन र शुभेच्छा दिनप्रतिदिन बढ्दै गएको बताए। उनले पूर्वी सुर्खेत एमालेमय भइसकेको दाबी गरे।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुर्खेतका दुबै क्षेत्रमा विजय हासिल गर्नेगरी चुनावी अभियानलाई तिव्रता दिइएको उनले बताए।
यस्तै, सुर्खेत क्षेत्र नम्बर २ मा पनि एमाले प्रवेश गर्नेहरूको लहर छ। बुधबार पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–१, हाँसेगाउँका दर्जनबढी विभिन्न पार्टीका अगुवा नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्।
एमाले नेता धनबहादुर थापाका अनुसार त्यहाँ नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी लगायतका विभिन्न पार्टीमा आवद्ध व्यक्तिहरूलाई एमालेमा स्वागत गरिएको छ।

