२०८२ पुष २१, सोमबार

सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी डोल्पाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन जना नेताको नाम सिफारिस गरेको छ। सोमबार बसेको जिल्ला कमिटी बैठकले जिल्ला अध्यक्ष लंकबहादुर रोकायासहित तीन जना नेताको नाम सिफारिस गरेको हो।

आगामी फागुन २१ गते हुने निर्वाचाका लागि बैठकले अध्यक्ष रोकायासँगै एमाले केन्द्रीय सदस्य बदमीक्वारी बोहोरा र नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य पूर्णबहादुर डांगीको नाम सिफारिस गरेको हो।

उम्मेदवार सिफारिस एमाले केन्द्रीय सदस्य बदमीक्वारी बोहोरा पूर्वकर्णाली प्रदेशसभा सांसद हुन्। उनि २०७४ सालको निर्वाचनमा समानुपातिक कोटाबाट कर्णाली प्रदेशको सांसद भएकी थिइन्।

यस्तै, अर्का उम्मेदवार सिफारिस भएका अध्यक्ष रोकाया ४० वर्षमूनीका युवा नेता हुन्। पछिल्लो समय पार्टीमा युवाहरुको अनिवार्य सहभागीताको नारा लागिरहेको बेला रोकाया बलियो उम्मेदवारको रुपमा प्रस्तुत भएका छन्। रोकायाले भने, म युवा भएका कारण डोल्पाबासीको माग पनि छ। पार्टीमा राम्रो काम गरेका कारण जिल्ला सचिव हुँदै अध्यक्षमा पुगेको छु। प्रतिनिधिसभा निर्वाचनमा मेरो कडा दाबी छ।

एकल उम्मेदवार सिफारिसका लागि जिल्ला कमिटी बैठकमा बृहत बहस र छलफल भएपनि अन्तिममा तीन जना नेताको नाम पार्टी केन्द्रलाई सिफारिस गरिएको छ।