मेरो जीवनको सबैभन्दा मिश्रित भावना, जब मेरो भिसा लाग्यो। पहिलो चरणदेखिको डर, आशंका, र अनिश्चितता सकिएको दिन। मैले हरेक डकुमेण्ट तयार गर्दा, हरेक आवेदन बुझाउँदा अनगिन्ती रातहरू आँसु र चिन्तामा बिताएँ। के मेरो सपना पूरा हुनेछ? भन्ने प्रश्न मेरो मनमा निरन्तर गुन्जिरहन्थ्यो। तर, जब भिसा लागेको खबर आयो, मेरो हृदयमा अकल्पनीय खुशी छायो। आँखा भरी आँसु। तर, यसपटक केबल पीडाको होइन, सफलताको, आशाको, र सपना पुरा भएको आनन्दको।
यो खुशीसँगै पीडा पनि थियो। मेरो १० महिने छोरा, मेरो परिवार, मेरो बाबा-मामु, श्रीमान् छोडेर टाढा जाने वास्तविकता मनमा भारी थियो।
एयरपोर्ट र यात्रा सम्बन्धी तयारी गर्दा, मनमा एक अजीब खालिपन महसुस भयो। सामान्यतया यि दिनको माहोल केवल उत्सवको थिएन। यसमा मेरो मनको पीडा, टाढा जाने डर, र परिवार छोड्ने जिम्मेवारीले मन डराईरहेको थियो। आँखामा आँसु, मन भित्रको चीत्कार र पीडा अझ गहिरो भयो। त्यो बिदाइ केवल शारीरिक छुट्टी मात्र होइन, हृदय टुक्रिने क्षण थियो।
रातको अन्तिम पहर थियो। आकाशमा चन्द्रमाले पनि आँसु झारिरहेको लाग्दै थियो। घरभित्र एउटी आमा निदाउँन खोज्दै थिइन्। तर, निन्द्रा आँखाको किनारमै अड्किएको थियो। छेउँमा सुतिरहेको १० महिनाको छोरो शान्त थियो। दूधको गन्धले भरिएको सानो संसारमा। रातभर ननिधाँई जूनको चिसो बिहान सुरु भयो।
घरबाट एयरपोर्टसम्मको सानो यात्रा, मनमा हजारौं भावनाहरू दौडिरहेका थिए। प्रेम, पीडा, भरोसा र आशा सबैको आवाज, टिका, माला र मायालु मुस्कानले मलाई अघि बढ्न हिम्मत दियो। तर, यो क्षण मेरो जीवनको सबैभन्दा गहिरो भावनात्मक अनुभव थियो। टिकट, पासपोर्ट, ब्याग—सब ठिक थियो, तर मुटु खाली।
एयरपोर्टको हलमा कदम राख्दा मेरो हृदयले यस्तो तान्न थाल्यो, जस्तो कि चिसो हावा र भीडले मेरो आत्मालाई कुचल्दै थियो। मेरो सानो छोरा, जसको मुस्कानले मेरो जीवन उज्यालो बनाउँथ्यो। मेरो हातबाट बिस्तारै टाढा हुँदै गइरहेको थियो। मेरो आँखामा आशु भरियो, मनमा एउटा खालिपन फैलियो—जस्तो कि संसारको सबै उज्यालो एकछिनमै हरायो!
हरेक कदममा म पछाडि फर्केर उसलाई हेरिरहेँ। उसको सानो कपाल, आँखाको चमक, र माया भरिएको अनुहार। त्यस्तो क्षणमा म चाहादै थिए यहि समय रोकियोस्।
एयरपोर्टको भीड, बोर्डिङ गेटको आवाज, र घोषणा गर्ने घण्टीहरूबीच मेरो आँखाबाट निरन्तर आँसु झरिरहे। म चाहन्थे उसको सानो हात अझै समात्न, उसको अनुहार अझै देख्न, र उसलाई पर्खंदै बस्न। तर, परिस्थिति फरक थियो। म मजबूर भए अगाडि बढ्न।
जब परिवारसँगको दुरि टाढिँदै गयो मेरो हृदयमा एक खालिपन आँखामा आशु छायो। तर, मेरो आँखाले आँसु मात्र होइन, उसको लागि माया, बल, र विश्वास देखाउदै बिदाईका हातहरु हल्लाउदै भित्र पसे। सबै प्रकिया पुरा गरेर विइटिङ रूमको बाथरूममा आफुलाई हुलेर सक्ने जति डाको छोडेर रोएँ। केही छिनमा भारी मनलाई जतिसक्दो ध्यान राख्दै आफ्नो सीटमा बसें।
जब विमानको ढोका बन्द भयो। आमाको भित्री संसार पनि बन्द भयो। विमानको उडान सुरु हुँदा, हावाको हलचल, इन्जिनको गर्जन र गेटबाट टाढा हुँदै गएको दृश्यले मेरो मनलाई अझ भारी बनायो। ११–१२ घण्टाको यो यात्रा केवल शारीरिक दूरी मात्र होइन् मेरो हृदयबीचको दूरीको अनुभूति थियो।
विमानको झ्यालबाट देख्दा, शहरको उज्यालो बिस्तारै सानो हुँदै गइरहेको थियो। म उसको अनुहार सम्झिरहेँ, उसको हाँसो, उसको सानो हात समाउँने क्षण, मेरो मन टुक्रा–टुक्रा भयो।
एयरलाइन्सको खाना, मनोरञ्जन र सबै सामान्य गतिविधि भए पनि मेरो ध्यान केवल मेरो छोरा र उसको यादमा थियो। हरेक पल म उसको कल्पना गर्दै थिएँ। के ऊ अहिले रुन लागिरहेको छ कि खेलिरहेको छ? के उसलाई मेरो याद आयो कि आएनँ? हरेक सोचले मेरो मनमा पीडा थपिरहेको थियो।
११–१२ घण्टाको उडानमा म एकै छिन पनि निदाएकी थिइन। मेरा आँखाहरू निरन्तर झ्यालबाट बाहिर हेर्छन्, आकाशको बादलहरू र सूर्यास्तको रङमा मेरो भावनात्मक अवस्था मिश्रित हुन्छ। मेरो मन भक्कानिन्छ—छोरा छोड्नु परेको पीडा, परिवारको समर्थनले दिएको बल, र भविष्यको लागि गरेको बलिदान।
विमानको अन्तिम चरणमा जब यूकेको भूमि नजिक आउँछ। मेरो मनमा मिश्रित भावना थियो–दुःख, एक्लोपन तर, केही आशा र उत्साह पनि। मैले आफैंलाई सम्झाएँ—यो दूरी अस्थायी छ। मेरो मेहनत, संघर्ष र बलिदानले मेरो परिवारका लागि उज्जवल भविष्य ल्याउँनेछ।
यूकेको एयरपोर्टमा कदम राख्दा, ठुलो नयाँ शहर, भिन्न भाषा र संस्कृति मेरो आँखामा प¥यो। म थकित भएँ, तर मनमा छोरा र परिवारको स्मृति सबैभन्दा प्रवल थियो। फेरि मेरो मन भक्कानिएको थियो। तर, यो भक्कानिएकोे भावनाले मलाई अझ बलियो बनायो।
११–१२ घण्टाको यात्रा केवल शारीरिक उडान होइन, यो एक आमा र उसका बच्चाबीचको प्रेम, पीडा, बलिदान र आशाको यात्रा थियो। हरेक क्षण, हरेक आँसु, र हरेक सम्झना मेरो हृदयमा सदैव अंकित रहनेछ।
दस महिनाको छोरा परिवारको काखमा छोडेर संसारको दौडधुपमा निस्कनु — त्यो कुनै सामान्य निर्णय होइन्। त्यो एउटा आमाको मनभित्रको आँधी हो। जुन आँसु र दूध दुबैको स्वरूपमा उम्लिन्छ। बिहानको हावा जस्तै हलुका लाग्ने यो पृथ्वी मलाई भारी लाग्छ। जब मेरो स्तनमा ममताको सेतो झरना जम्दै जान्छ। तर, पिउन चाहाने सानो ओठ, हजारौं माइल टाढा छ।
नयाँ परिवेशकोबीचमा जब शरीर भारी महसुस हुन्छ। ब्रेस्टमा चर्किने पीडाले मेरो आत्मासम्म काट्छ। पम्पले ममताको सेतो झरना निकाल्दा मलाई लाग्छ, मानौं हरेक थोपा ममताको सेतो झरनासँग आफ्ना भावनाहरू पनि निचोर्दै छु।
त्यो ममताको सेतो झरना अब पोषण होइन, पीडाको रस बनिसकेको छ— एउटा शून्य काखको प्रतीक। बोतलमा जम्मा हुने ममताको सेतो झरना, उसको अधूरो मातृत्वको गवाही हो।
रात परेपछि मेरो मन अझ गहिरो अन्धकारमा डुब्छ। बिस्तारै–बिस्तारै स्तनको बोझ भन्दा पनि आत्माको बोझ भारी बन्छ। फेरि सम्झना आउँछ— सानो छोराको स–सानो हाँसो, त्यो छोरा को सुगन्ध, त्यो काखको न्यानो। तर, अहिले त केवल ठण्डा पम्पको आवाज र निस्कने थोपा–थोपा ममताको सेतो झरनाको टपकन मात्र छ।
शरीरले राहत खोज्छ। तर, मन अझै पनि तडप्छ। किनभने आमाको शरीरको पीडा त अस्थायी हुन्छ। तर, आमाको हृदयमा जम्ने दूध त्यो शाश्वत घाउ हो। जब म पम्पले ममताको सेतो झरना निकालेर फाल्छु। ऊ केवल हृदयको अमृत होइन, आफ्ना अधुरा पल, अधूरो माया, अनि मातृत्वको एउटा टुक्रो पनि फाल्दैछु।
कसैले सोच्ला, के हृदयको अमृत निकालेर फ्याँक्नु मात्र दुख हो? होइन। त्यो त मातृत्वको रसलाई अर्थविहीन बनाउनु हो। यो आमाको लागि हरेक थोपा दूध एउटा सन्देश हो— ‘तिमी टाढा छौ, म यहाँ तडपिरहेकी’ स्तन दुख्छ, तर त्यो भन्दा धेरै मन रोइरहेको हुन्छ। दिमागले भन्छ, “यो अमृत नफ्याँक, यो त तिम्रो बच्चाको अधिकार हो।” तर परिस्थिति, दूरी र बाध्यताले निर्दयी बनाउँछन्। म आफ्नो बच्चाको लागि र आफ्नो भविष्यको लागि एकैपटक लडिरहेकी छु।
यस्तो पीडा कुनै औषधिले निको पार्दैन। यो पीडा त हरेक साससँग बाँधिएको हुन्छ। हरेक बिहान, हरेक रात। जब म सुत्ने कोसिस गर्छु, हृदयमा दूधजस्तै सम्झनाहरू जम्छन्, दुखका थोपाहरूले मेरो मनलाई एउटा आमा जब आफ्नै अमृत फाल्न बाध्य हुन्छे। त्यो केवल शारीरिक होइन, आत्मिक र आध्यात्मिक मृत्युको क्षण पनि हो। तर, त्यही आमा, आँसु पुछेर अर्को बिहान पुनः उठ्छे— किनभने म आमा हो, र आमाको माया कहिल्यै सुकेर जान्दैन।
अन्तिम भाग— “मेरो यत्रा र हृदयको आभार”
मेरो यो यात्राको सबैभन्दा बलियो आधार बने मेरो माईतीघर, जसले मलाई सधैं ‘तँ सक्छेस’ भनेर ढाँडस दियो।
म आमा–बुबाको त्यो मायालु अनुहार सम्झन्छु— जसले आँसु रोक्दै भनेका थिए, ‘छोरी, आँसु पुछ, सफल भएर फर्क।’ तर म जान्दथेँ, म गएको दिन उनीहरूले निदाउँन सकेका थिएनन्।
मेरा श्रीमान्, जसले मेरो सपना बुझ्नुभयो, मेरो हरेक डर, पिडा र कमजोरीमा साथ दिनुभयो।
उहाँको मुस्कानको पछाडि लुकेको त्यो खालिपन आज म हवाईजहाजको सिटमा बसेर महसुस गरेको छु। मेरो जेठानि दिज्जु जसले छोरासँगै मलाई पनि सम्हालिराख्नु भयो…ल।
विमानस्थलमा जब मैले मेरो मुटु उहाँको हातमा उहाँको नयनमा देखिएको मायाको उज्यालो, उहाँले भनेको शब्द— ‘चिन्ता नगर, म उसको आमा बन्नेछु’ त्यो मेरो आत्मालाई शान्त पार्ने एक मात्र औषधि बन्यो। मेरो दाजुको रुपमा उभिनु भएका जेठाजु दाजुहरु प्रति मेरो सम्मान सदा ररिरहने छ।
यो यात्रामा साथ र आशीर्वाद दिनुहुने सबै—मेरा माईती, जसले मेरो हिम्मत बढाउनुभयो, मेरो श्रीमान्, जसले ममा भरोसा गर्नुभयो र मेरो आमाको भुमिका निभाउने दिज्जु जसले मेरो र छोरा दुवैको माया एकसाथ बोकिनुदिनुभयो तपाईंहरू सबैलाई मेरो हृदयको गहिराइबाट धन्यवाद। तपाईंहरूकै कारण म आज पनि उभिएकी छु।




