२०८३ जेष्ठ १३, बुधबार

सुर्खेत। जाजरकोटमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन्। बुधवार बिहान साढे ८ बजेको समयमा छेडागाड नगरपालिका–१३ कार्कीगाउँबाट नेपालगञ्जका लागि छुटेको लुम्बिनी प्रदेश ०१००१ ख ०१९७ नम्बरको गाडी दुर्घटनामा परेको हो।

गाडी भेरी नगरपालिका–८ चौखेढुङ्गा नजिक सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

दुर्घटनाबाट घाइते हुनेहरूमा भेरी नगरपालिका–७ का २५ वर्षीया लिला विक, २७ वर्षीया भावना विक, आशिष विक, २८ वर्षीया तिर्सना विक, २७ वर्षीया तुलसा मल्ल, भेरी नगरपालिका–९ का कमलराज घर्ती र २२ वर्षीय कमल परियार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले घाइते सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको जानकारी दिए।

उनकाअनुसार गाडी चालक भेरी नगरपालिका–९ का २६ वर्षीय खिमराज केसी सकुशल रहेका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।