२०८३ बैशाख १९, शनिबार

सुर्खेत। सल्यानको जिल्ला प्रहरी कार्यालय परिसरभित्र विभिन्न ८६ थान बम फेला परेको छ। बुधबार शारदा नगरपालिका–३, स्थित कार्यालय परिसरमा भवन निर्माणका लागि जग खन्ने क्रममा बम फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले कार्यालयको नयाँ भवन निर्माणका लागि जग खन्ने क्रममा शंकास्पद वस्तु फेलापरेपछि थप उत्खनन गरिएको जानकारी दिए।

‘जग खन्ने क्रममा शंकास्पद वस्तु फेलापरेपछि आवश्यक सुरक्षा सतकर्ता अपनाएर नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले थप उत्खनन गर्दा ८६ थान बम फेला प¥यो।’ डिएसपी केसीले भने, ‘ती मध्ये ८२ वटा सकेट बम, तीन वटा सुतली बम र एक वटा बोतल बम फेला परेका छन्।’

केसीले उत्खननका क्रममा सात थान रेडियो वेभ उपकरण, करिब पाँच सय ग्राम विस्फोटक पदार्थ, बम बनाउन प्रयोग हुने दुई केजी सामग्री र १० मिटर फायरिङ केबल समेत फेला परेको जानकारी दिए।

फेला परेका बमलाई नेपाली सेनाको प्राविधिक टोलीले सुरक्षितरुपमा डिस्पोज गरिएको डिएसपी केसीको भनाइ छ।

फेला परेका विष्फोटक सामग्री तत्कालिन १० वर्षे जनयुद्धका समयमा नेकपा माओवादीबाट बरामद गरी राखिएको हुनसक्ने प्रहरीको अनुमान छ।