सामाजिक संजाल:

२०८३ बैशाख ११, शुक्रबार

सुर्खेत। कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ९०.२६ प्रतिशत योजनाहरुका कार्यान्यमा गएका छन्।

चालु आर्थिक वर्षमा विनियोजन भएका १ हजार ३७६ योजनामध्ये १ हजार २४२ अर्थात् ९०.२६ प्रतिशत योजनाहरु कार्यान्वयनमा गएका हुन्।

साथै बाँकी १३४ वटा योजना कार्यान्वयनको चरणमा रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सूचना अधिकारी ईन्जिनियर सागर आचार्यले कार्यान्वयनका गएका योजनाहरु मध्ये हालसम्म १३९ वटा योजना मात्रै सम्पन्न भएका जानकारी दिए।

उनका अनुसार जिल्लागत अन्तरगत सुर्खेतमा सबैभन्दा धेरै १७७ योजना सञ्चालनमा रहेकामा १६८ वटा कार्यान्वयन भइसकेका छन्।

यस्तै, सल्यानमा ७९ मध्ये ७४, दैलेखमा १८३ मध्ये १७४, कालिकोटमा १५९ मध्ये १५३, जुम्लामा १०४ मध्ये ९७, मुगुमा ९४ मध्ये ८४ योजना कार्यान्वयन भएका छन्।

त्यसैगरी रुकुम पश्चिममा १४३ मध्ये १२०, जाजरकोटमा ११३ मध्ये १०२, डोल्पामा १०६ मध्ये १०१ तथा हुम्लामा २२२ मध्ये २०० योजना कार्यान्वयन भएको सूचना अधिकारी आचार्यले जानकारी दिए।

चालू आर्थिक वर्ष २०८२÷८३ मा यस मन्त्रालयका लागि ३ अर्ब ८३ करोड ३ लाख बजेट विनियोजन भएकोमा अहिलेसम्म ९४ करोड २४ लाख रुपैयाँ खर्च भएको छ।

जसमा चालुतर्फ ५३.३ र पुँजीगततर्फ २२.४१ प्रतिशत गरी जम्मा २४.६० प्रतिशत बजेट खर्च भएको मन्त्रालयले जनाएको छ।

यस्तै, जलस्रोत तथा ऊर्जा विकासमन्त्री बिजया बुढाले अधिकांश योजनाहरुको कार्यान्वयनमा गएका र मन्त्रालय सन्तोषजनक रहेको दाबी गरिन्। ‘धेरै योजनाहरु कार्यान्वयनमा गइसकेका छन्। बाँकी रहेका योजनाहरु बैशाख मसान्तसम्म कार्यान्यनमा जान्छन्। सोही अनुसार बाँकी योजनाहरूलाई शीघ्र सम्पन्न गर्न मन्त्रालयबाट निर्देशन भइरहेको छ।’ मन्त्री बिजयाले भनिन्।