सामाजिक संजाल:

२०८२ फाल्गुन २५, सोमबार

सुर्खेत । देशभर रास्वपाका उम्मेदवारहरुले जितिरहँदा कर्णालीका १२ निर्वाचन क्षेत्र मध्ये ७ निर्वाचन क्षेत्रमा उठेका उम्मेदवारहरुको जमानत जफत भएको छ।

हुम्ला, जुम्ला, कालीकोट, मुगु, डोल्पा, रुकुमपश्चिम र जाजरकोट गरी सात वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरुको जनामत जफत भएको हो। उनिहरुले कुल खसेको मतमध्ये जम्मा सदर मतको १० प्रतिशत पनि प्राप्त गर्न सकेनन्।

सुर्खेत निर्वाचन क्षेत्र–२ बाट उम्मेदवार रमेशकुमार सापकोटा नेपाली कांग्रेसका उम्मेदवारलाई भारी मतान्तरले हराउँदै विजयी बने। उनले ३० हजार ८२६ मत प्राप्त गरे।

यस्तै, सुर्खेत–१ बाट उम्मेदवार टेकबहादुर सिंह, दैलेख निर्वाचन क्षेत्र १ मा नन्दकिशोर बस्नेत, दैलेख–२ मा बखतबहादुर शाही, सल्यानमा ललितकुमार सिंह भने कडा प्रतिस्पर्धामा उत्रिए। तर, जित भने निकाल्न सकेनन्।

सुर्खेत–१ मा सिंहले १४ हजार ७२९ मत, बस्नेतले ८ हजार १५१, शाहीले ६ हजार ९९७, सल्यानमा सिंहले २० हजार ९०४ मत प्राप्त गरे।

यी उम्मेदवारको भयो जमानत जफत

जुम्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएकी विनिता कठायतको जमानत जतफ भएको छ। कुल ७१ हजार ७३९ मतदाता मध्ये ४० हजार ८७८ मत खसेको थियो। खसेको मतमध्ये ३९ हजार १७३ मत सदर छ। भने १ हजार ७०५ मत बदर भयो। उम्मेदवार कठायतले जम्मा ४२१ मत मात्रै प्राप्त गरिन्। सदर मतको १० प्रतिशत अर्थात् ३ हजार ९१७ ल्याउनुपर्छ।

डोल्पामा जम्मा खसेको मत मध्ये कुल सदर मत १५ हजार ५०६ हो। त्यसमा रास्वपाका देवसिंह ऐडीले १८२ मत मात्रै प्राप्त गरे कुल सदर मतको १० प्रतिशत मत ल्याउँदा उनले १ हजार ५ सय मत कटाउनु पर्ने थियो।

यस्तै, हुम्लाबाट उम्मेदवार टासी ल्यान्जोमको पनि जमानत जफत भएको छ। कुल खसेको २२ हजार ४६७ मत मध्ये २१ हजार ९३५ मत सदर छ भने ४१६ मत बदर छ। उनले १०६४ मत मात्रै प्राप्त गरिन्। उनले २ हजार मत कटाउनुपर्ने थियो।

मुगुबाट उम्मेदवार भुवन टमटाले ५ सय ३० मतसहित चौथो भए। ३६ हजार ३१ मतदाता मध्ये २२ हजार ७१ मत खसेको थियोे। जसमा ८४६ मत बदर भए। टमटाले जमानत फिर्ता पाउनका लागि २२ सय मत कटाउनुपर्ने हुन्छ।

कालीकोटबाट उम्मेदवार प्रकाश न्यौपानेले ३ हजार ३०१ मत पाए। जम्मा खसेको मत मध्ये ३९ हजार ३७७ मत सदर छ। उक्त मतको १० प्रतिशत अर्थात् ३ हजार ९ सय बढी मत प्राप्त गर्नुपर्ने हुन्छ।

यस्तै, जाजरकोटबाट उम्मेदवार राघब कार्कीको पनि जमानत जफत भएको छ। जिल्लामा खसेको कुल सदर मत ५७ हजार ६६८ छ। कार्कीले २ हजार ४७१ मत मात्रै पाए। कुल सदर मतको १० प्रतिशत पुर्याउन कार्कीले ५ हजार ७ सय बढी मत पाउनुपर्ने थियो।

रुकुमपश्चिमबाट उम्मेदवार मानबहादुर शाहीले कुल खसेको मत मध्ये ४ हजार ७६ मत मात्रै आफ्नो पक्षमा पार्न सफल भए। यहाँ कुल खसेको मत मध्ये ५९ हजार ५२९ सदर छ। जमानत फिर्ता पाउनका लागि ५ हजार ९ सय बढी मत प्राप्त गर्नुपर्ने हुन्छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा जमानत वाफत १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्छ। महिला र दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था छ। निर्वाचन क्षेत्रमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारले सो धरौटी रकम फिर्ता फिर्ता पाउँदैन। त्यसैलाई ‘जमानत जफत’ भनिन्छ।