२०८३ असार १३, शनिबार

सुर्खेत। कृषि विकास कार्यालय मुगुले शनिबार जिल्लास्तरीय मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार वितरण गरेकाे छ।

कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याई व्यावसायिक खेतीमार्फत जिल्लाको कृषि उत्पादन तथा आत्मनिर्भरता प्रवर्द्धनमा योगदान दिएका कृषकहरूलाई कार्यक्रममा सम्मान तथा पुरस्कृत गरिएको हो।

पुरस्कार वितरणतर्फ प्रथम पुरस्कार व्यावसायिक स्याउ खेती गर्दै आएका जयसन्त कुलाल, द्वितीय पुरस्कार व्यावसायिक अनार खेतीमा संलग्न मनलाल विक, तथा तृतीय पुरस्कार व्यावसायिक तरकारी खेती गर्दै आएका ईश्वर भाम लाई प्रदान गरिएको कृषि विकास कार्यालय मुगुले जनाएको छ।

कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख अनुजकुमार मण्डलले कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण तथा उत्पादन वृद्धि गर्न मेहनती कृषकहरूको सम्मानले अन्य कृषकलाई समेत व्यावसायिक खेतीतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यालयले यस्ता कार्यक्रममार्फत कृषकको मनोबल अभिवृद्धि गर्नुका साथै जिल्लामा कृषि उद्यमशीलता विकास र उत्पादन वृद्धि गर्ने लक्ष्य रहेको जनाएको छ।