सुर्खेत । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा दैलेख-१ मा एक समय सँगसँगै काम गरेका वामपन्थी नेता तीन फरकफरक दलबाट प्रतिस्पर्धामा उत्रिएका छन्। त्यसमा नेपाली कांग्रेसको दाबेदारीले चुनावी माहोल रोचक बनाएको छ।
केही वर्षअघि नेकपा (एमाले) मै सँगसँगै राजनीति गरेका रविन्द्रराज शर्मा, अम्मरबहादुर थापा र नन्दकिशोर बस्नेत फरकफरक दलबाट चुनावि मैदानमा उत्रिएका हुन्। शर्मामा एमालेबाट, थापा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट र बस्नेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका छन्।
पूर्व सहकर्मी तीन नेता आमनेसामने हुँदा कांग्रेसले बासना थापालाई उम्मेदवार बनाएको छ। विगतका निर्वाचनमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुँदै आएको थियो। यस पटक एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) हुँदै नेकपामा पुगेका थापा पनि प्रतिस्पर्धामा छन्।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच गठबन्धन भएपछि थापा नै उम्मेदवार थिए। उनले एमालेका शर्मालाई पराजित गरेका थिए। थापाले १८ हजार २५६ मत पाउँदा एमालेका शर्माले १७ हजार ४०७ मत पाएका थिए।
थापा र शर्माले लामो समय एमालेमा सहकार्य गर्दै एउटै भूगोलमा मिलेर राजनीति गरेका थिए। २०७४ सालको निर्वाचनमा शर्मा प्रतिनिधि सभा र थापा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। त्यतिवेला शर्माले २३ हजार ७७३ मत प्राप्त गरेका थिए भने निकटम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपककुमार शाहीले १७ हजार २५२ मत पाएका थिए। त्यतिवेला कांग्रेसले राप्रपालाई साथ दिएको थियो।
यस्तै, थापा एमालेबाट २०६४ सालमा संविधान सभा, २०७० सालमा प्रतिनिधि सभा र २०७४ सालमा प्रदेश सभा चुनावमा उम्मेदवार बनेका थिए। संविधान सभामा कांग्रेसका गणेश खड्कासँग पराजित भएका थापा २०७० सालमा खड्कालाई पराजित गरेका थिए।
उनले १४ वर्ष एमाले दैलेखको नेतृत्व गरेका थिए। दैलेखमा एमालेको सांगठनिक अवस्थालाई विस्तारित गर्न भूमिका खेलेका छन्।
यस्तै, शर्मा २०४८ साल र २०५२ सालको निर्वाचनमा कांग्रेसका गणेश खड्कासँग पराजित भएका थिए। त्यसपछि संसदीय चुनावमा भाग नलिएका उनले २०७४ सालमा प्रतिनिधि सभा चुनाव जितेका थिए।
त्यस्तै, २०७९ सालमा पूर्वसहकर्मी थापा र शर्मा फरकफरक पार्टीबाट प्रतिस्पर्धामा उत्रिएका थिए। त्यतिवेला थापाले शर्मालाई पराजित गरेका थिए।
२०४८ सालयता पार्टीको नेतृत्वमा शर्मा रहँदा थापा सचिव र थापा नेतृत्वमा हुँदा शर्माले सचिव भएर सहकार्य गरेका थिए। २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभामा थापाले शर्मालाई भोट मागेका थिए भने प्रदेश सभातर्फ शर्माले थापालाई भोट मागेका थिए। शर्मा २३ हजार ७७३ मतसहित प्रतिनिधि सभा सदस्यमा र थापा प्रदेश सभामा १२ हजार ५६७ मत प्राप्त गरेर निर्वाचित भएका थिए।
यी दुई पूर्वसहकर्मीको प्रतिस्पर्धामा यस पटक अर्का नेता नन्दकिशोर बस्नेत (एनके) थपिएका छन्। रास्वपाबाट उम्मेदवार बनेका उनले केही समयअघि मात्रै एमाले छोडेका थिए।
उनी यस पटक मात्रै होइन, २०७९ सालमा पनि एमालेबाट उम्मेदवारको दाबेदार थिए। तर, उनको नाम सिफारिस नै गरिएन। त्यसपछि एमाले छोडेर रास्वपामा प्रवेश गरेका हुन्। रास्वपा प्रवेश गरेसँगै टिकट पनि पाएका छन्।
उनी पूर्व सुरक्षाकर्मी हुन्। नेपाल प्रहरी हुँदै सशस्त्र प्रहरी बलमा काम गरेका उनी उद्योग व्यवसायमा संलग्न भएका थिए। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष तथा महाप्रबन्धकका रूपमा काम गरिसकेका उनी अहिले चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
दैलेख-१ मा नारायण नगरपालिका, महावु, भगवतीमाई, नौमुले, डुङ्गेश्वर र गुराँस गाउँपालिका पर्छन्।