सुर्खेत । नेकपा माओवादी केन्द्रको गढ मानिएको रूकुमपश्चिम यतिबेला दुईधारमा विभाजित छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विघटन गरे लगतै अन्यदलहरुसँग एकता गरी नेपाली कम्युनिस्ट पार्टी बनाएपछि त्यसको विपक्षमा जनार्दन शर्मा उभिए। तत्कालिन नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका रूकुमपश्चिमका शर्माले छुट्टै पार्टी दर्ता गरि निर्वाचनमा होमिएका छन्।
उनले प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेर आगामी फागुन २१ गते हुने निर्वाचनका लागि अधिकासं क्षेत्रहरुमा उम्मेदवार उठाउँदै आफु २०४८ देखि लड्दै आएको निर्वाचन क्षेत्र रुकुमपश्चिबाट उम्मेदवार बनेका छन्।
शर्मासँगै चुनावी मैदान नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट गोपाल शर्मा, राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका धनबहादुर बिक, नेकपा एमालेका नन्दराम देवकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्का छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मानबहादुर शाही, नेपाली काँग्रेसबाट राजु केसी, नेकपा माओवादीबाट चन्द्र बुढा, नेकपा संयुक्तबाट शेरबहादुर केसी, उज्यालो नेपाल पार्टीबाट नरेन्द्र केसी र आम जनता पार्टीबाट प्रेमा दमाई नेपालीको उम्मेदवारी परेको छ।
रूकुमपश्चिम मा प्रलोपाका जनार्दन, नेकपाका गोपाल, काँग्रेसका केसी र एमालेका देवकोटा बीच मुख्य चुनावी रस्साकस्सी हुने देखिएको थियो। तर, माघ ११ गते नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रि पार्टीका अध्यक्ष दुर्गा सोवबीच भएको सहमति अनुसार एमालेले जनार्दनलाई सघाउने भएको छ।
एमालेले प्रलोपाका उम्मेदवार शर्मालाई सघाउने निर्णय भएसँगै अब रूकुमपश्चिममा मुख्य तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।
यस्तै, नेकपा एमालेका केन्द्रीय सदस्य तथा रूकुमपश्चिम इन्चार्ज सुशीलकुमार थापाले पार्टीले गरेको निर्णय अनुसार एमाले रूकुमपश्चिम अगाडी बढ्ने बताए।
साथै थापाले शर्मासँगको चुनावी तालमेललाई आगामी २०८४ को स्थानीय तह र प्रदेशसभाको निर्वाचनसम्म लैजाने योजना रहेको बताए।
यस्तै, नेपाली काँग्रेसले केसीलाई उम्मेदवार बनाएपछि पार्टीभित्र आन्तरिक असन्तुष्टि बढेका कारण ती भोट अन्य दललाई जानसक्ने आँकलन गरिएको छ।
गोपालले भत्काउलान् जनार्दनको पकड?
नेकपा माओवादी केन्द्रका पूर्वउपमहासचिव शर्माले १४ वर्षको उमेर २०३४ सालमा तत्कालीन कम्युनिस्ट पार्टी चौमको सदस्यता लिए। एसएलसी उत्तीर्ण गरेपछि कृषि विषय पढेका उनी राजनीतिलाई अघि बढाउन जिल्लामै जेटिएको जागिर खाएका थिए।
रूकुमपश्चिबाट दैलेख सरुवा गरिएपछि शर्माले २०४३ मा जेटिएबाट राजीनामा दिएका थिए। त्यसअघि नै उनी २०३८ मा तत्कालीन कम्युनिस्ट पार्टीको रुकुम जिल्ला सदस्य भइसकेका थिए।
२०४६ मा बहुदलीय व्यवस्थाको पुनस्थापनापछि भएको पहिलो आमनिर्वाचन २०४८ मा तत्कालीन संयुक्त जनमोर्चाबाट रुकुम–२ मा प्रतिस्पर्धा गरेका शर्मा नेपाली काँग्रेसका गोपालजीजंग शाहसँग पराजित भए। शाहले १२ हजार ४४१ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्द्वी शर्मालाई ११ हजार १२६ मत प्राप्त भएको थियो।
२०४७ मा आफूलाई पराजित गरेका शाहसँग २६ वर्षपछि शर्माले बदला लिए। २०७४ को निर्वाचनमा शर्माले कांग्रेस उम्मेदवार शाहलाई ठूलो मतान्तरले हराए। विजयी शर्मा र पराजित शाहबीचको मतान्तर १८ हजार ७ सय ४३ थियो।
२०५२ देखि सुरु भएको माओवादी सशस्त्र युद्धमा सुरुवातदेखि नै सहभागी शर्मा माओवादी सेनाका ४ जना डेपुटी कमान्डर मध्ये एक थिए।
२०६४ पछिका सबै निर्वाचनका प्रतिस्पर्धी शर्मा ०६४ को पहिलो संविधान सभा निर्वाचनमा २२ हजार ५ हजार ७५ मतका साथ विजयी भए।
०७० को निर्वाचनमा ३० हजार २ हजार ७० मत प्राप्त गरेका उनले ०७४ को निर्वाचनमा ३४ हजार ४ सय २ मत प्राप्त गरी विजय हासिल गरे।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेस र माओवादीबीच भएको गठनबन्धनका उम्मेदवार उनै शर्माले २६ हजार ५८८ मतान्तरसहित नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गरेका थिए।
६० हजार ५६२ मत खसेको मतमा शर्माको पक्षमा ३९ हजार ५४९ मत आयो भने एमालेका देवकोटाको पक्षमा १२ हजार ९६१ मत पाए। शर्माविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार तारक केसीले ३ हजार ५६७ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक कुमार मल्लले ७९६ पाए।
जिल्लाबाट ह्याट्रिक गरिसकेका शर्मालाई यस पटक उनकै पूर्व लडाकु गोपाल शर्माले चुनौति दिएका छन्। जनयुद्धदेखि नै माओवादीको आधार इलाका रहेको रूकुमपश्चिम गणतन्त्रपछिका माओवादीले नै जित्दै आएको छ। आगामी निर्वाचनमा पूर्वअर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा फरक कित्तामा उभिँदा चुनावी माहोल रोचक बनाएको छ।
राजनीतिक गुरु जनार्दन शर्मा ‘प्रभाकर’सँग नेकपाबाट गोपाल शर्मा प्रतिस्पर्धामा छन। ०७४ सालको निर्वाचनमा प्रदेशसभा सांसद निर्वाचित भएका शर्मा कर्णाली प्रदेश सरकारमा अर्थमन्त्री बनेका थिए।
२०७९ को स्थानीय तहको निर्वाचनमा ६ वटा स्थानीय तह मध्ये ४ वटा पालिका प्रमुख तथा अध्यक्षमा तत्कालिन नेकपा माओवादी केन्द्रबाट भने २ नेपाली काँग्रेसबाट निर्वाचित छन्। विगतदेखि माओवादीको पकट क्षेत्र रहेको भन्दै नेकपाका शर्मा चुनाव जित्नेमा ढुक्क छन्।
उम्मेदवार शर्माले रूकुमपश्चि कम्युस्टिको गढ भएकाले व्यक्ती भन्दा पनि संगठनका कारण पार्टीले मत पाउने दाबी गरे। उनले भने, ‘रूकुमपश्चिम साविक माओवादी केन्द्रको गढ हो। यहाँ व्यक्तीको अनुहारलाई नभएर सांगठित मत पार्टीका उम्मेदवारमा जान्छ। व्यक्तिमा हैन्। नेता जता लागे त्यतै नभइ रूकुमपश्चिमको विरासत कम्यनिस्ट कायम राख्ने इतिहास हो।’
साथै उनले जिल्लाका नेता–कर्याकर्ताहरु विचलित नभएर नेकपामा नै रहेको दाबी गरे।
यस्तै, प्रलोपाका जिल्ला संयोजक शैलेन्द्र शर्माले रूकुमपश्चिबाट जर्नादन शर्माले एमालेका मत नजोडेरै २२ हजार मत बढीले चुनाव जित्ने दाबी गरे। उनले भने, ‘१ लाख ६ हजार बढी मतदातामा करिब ५० देखि ६० प्रतिशत मत खस्ने आकँलन छ। ती मध्ये २२ हजार मत हाम्रो पक्षमा आउँछ। त्यसमा एमालेको ८ हजार बढी मत जोड्दा ३० हजार बढी मत हाम्रो पक्षमा आउने अनुमान छ।’
साथै उनले २०७९ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट केही स्थानीय तहहरुमा निर्वाचित पालिका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र आठबीसकोट तथा चौरजहारी नगरपालिकाका वडाध्यक्षहरु खुलेर जनार्दनको प्रचारमा लागेको दाबी गरे।
यस्तै, रूकुमपश्चिममा १ लाख ६ हजार ६६० मतदाता छन्। मतदानका लागि ७६ मतदान स्थल र १४० मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ।
२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा रूकुमपश्चिममा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले ३७ हजार १०२ मत पाएका थिए।
कांग्रेसका उम्मेदवारहरुले प्राप्त गरेको मत २६ हजार ६ सय २० थियो भने नेकपा एकीकृत समाजवादीका उम्मेदवारले १ सय ३० र एमालेका उम्मेदवारहरुले ६ हजार १ सय २४ मत हासिल गरेका थिए।
यस्तै, समानुपातिकतर्फ तत्कालिन नेकपा माओवादीले ३४ हजार ३४७, नेकपा एमालेले ८ हजार ७६९, नेपाली काँग्रेसले ८ हजार ७६६, राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ८६१ र नेकपा एकीकृत समाजवादीले १ हजार ५१० मत प्राप्त गरेका थिए।