वीरेन्द्रनगर। अटिजम केयर नेपाल सोसाइटी कर्णाली प्रदेशले अटिजम भएका बालबालिकाहरुका लागि पाँच बर्षे कार्ययोजना तयार गरेको छ। सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न दुई दिने अटिजम कार्यशाला तथा गोष्ठीले उक्त योजना तयार गरेको हो।
एबिलिस फाउन्डेसनको सहयोगमा कार्ययोजना बनाउन दुई (जेठ १४ र १५ गते) दिनसम्म चलेको कार्यशाला गोष्ठीमा विभिन्न विषयमा महत्वपुर्ण छलफल भएको छ।
अटिजम केयर नेपाल सोसाइटीका अध्यक्ष सुशीलकुमार थापाले कार्यशाला गोष्ठीबाट अटिजम भएका बालबालिकाहरु तथा उनिहरुका लागि हेरचाह गर्ने व्यक्तिहरुलाई हक, हित र अधिकारका बारेमा संचेतना गर्दै आवश्यक विषयमा एक वर्षीय, तीन वर्षीय र पाँच वर्षीय योजना तयार पारिएको जानकारी दिए।

उनकाअनुसार संस्थाले अटिजम भएका व्यक्तिहरको शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा जस्ता जल्दाबल्दा सवालहरु उत्थान गर्दै समाधानका पक्षमा निरन्तर रुपमा वकालत गरिरहेको छ।
यसका साथै अटिजम भएका व्यक्तिहरुको क्षमता विकासका साथै चेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
‘अटिजम केयर नेपाल सोसाइटीले सक्रिय रुपमा अनुसन्धान, शिक्षा तथा जनचेतना तालिम तथा क्षमता विकास अभिभावक तथा बालबाकिा तालिम कार्यक्रम बालबालिकाहरुको क्रिायाशिलता मुल्याङ्गकन जस्ता कार्यक्रममा क्रियाशिल भएर अघि बढिरहेको छ।’ अध्यक्ष थापाले भने।
यस्तै, कार्यशालामा बोल्दै वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष धुर्व चपाईँले अटिजम भएका बालबालिकाहरुको स्वास्थ्य उपचारका लागि आगामी आर्थिक वर्षमा वडाबाट बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाए।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष टिकाराम शर्माले अटिजम भएका बालबालिकाहरुलाई समस्याका रुपमा नभएर अवसरका रुपमा ग्रहण गरेर काम गर्नुपर्ने बताए।

उनले अटिजमबाट प्रभावित व्यक्तिहरुको पहिचान, तथ्यांक संकलन, उपचार लगायतका काम वडा कार्यलयले गर्न नसक्ने बताउँदै तीनै तहका सरकारहरु गम्भीर भएर लाग्नुपर्ने सुझाव दिए।
यस्तै, राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष नन्दाराम धितालले अधिकांश नागरिकहरुलाई अटिजमका विषयमा जानकारी नभएका कारण पहिचानमै समस्या भएको बताए।
उनले अटिजम भएका बालबालिकाहरुको समयमै पहिचान गरी आवश्यकता अनुसार उपचार गरेपछि भविश्य सुन्दर हुने बताउँदै तीनै तहका सरकारलाई यतापनि ध्यानदिन आग्रह गरे।
पछिल्लो समय अटिजम केयर नेपाल सोसाइटी कर्णाली प्रदेशले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा कार्यालय स्थापना गरी अटिजमबाट प्रभावित बालबालिका तथा परिवारका सदस्यहरुलाई तालिम तथा प्रशिक्षण लगायतका कार्यक्रमहरु गर्दै आएको छ।


