सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेश सभा बैठकमा आफ्नो भनाइ राख्दै उनले पदबाट राजीनामा दिएका हुन्।
कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले उनी विरुद्ध असार ३२ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। शनिबार उक्त प्रस्तावमाथिको छलफलमा भाग लिएका कँडेलले सुरुमै आफ्नो धारणा राखे । र, पदबाट राजीनामा दिएका छन्।
उनले आफ्नो लागि कुर्सी नै ठूलो कुरा नरहेको पनि बताए। कँडेल ०८० चैत्र अन्तिम साता मुख्यमन्त्री नियुक्त भएका थिए।
सुरुमा माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका उनी ०८१ साउनदेखि काङ्ग्रेससँगको गठबन्धनमा थिए।
कँडेलले आफ्नो कार्यकालमा थुप्रै सुधारका काम भएको पनि स्मरण गरे । उनले नयाँ बन्न लागेको सरकार कति टिक्छ वा टिक्दैन त्यो भन्न नसकिने बताए।
‘म यहाँ आउँदै गर्दा नेकपा—एमालेका दुई वटा अध्यक्ष बसिरहेका छन्, टेलिफोन कुरा भएको थियो,’ उनले भने।
कम्युनिस्ट दल मिल्ने सङ्केत गर्दै नयाँ बन्न लागेको सरकारको आयुबारे टिप्पणी गरे।




