वीरेन्द्रनगर। लेखक तथा साहित्यकार खडानन्द चौलागाईद्वारा लिखित ‘दशनामी समाजका विशिष्ट भ्रम र खस सभ्यता’ पुस्तक लोकार्पण गरिएको छ। कोलमुनि परिवार सुर्खेतद्वारा सुर्खेत वीरेन्द्रनगरमा साहित्यकार तथा बुद्धिजीवि महेन्द्रप्रसाद गिरिले उक्त पुस्तक लोकार्पण गरेका हुन्।
सो कार्यक्रममा बुद्धिजीवि गिरिले लेखक चौलागाई राष्ट्रसेवक कर्मचारी रहँदा पनि दशवटा कृति प्रकाशन गर्न सफल भएकौ भन्दै हार्दिक कृतज्ञता प्रकट गरे। उनले भने, ‘पुस्तकले दशनामी समाजमा भएका भ्रमलाई चिर्दै थथार्थता देखाइदिएको छ। आदि शंकाराचार्यमा आश्रित गिरी, पुरी र गोरखनाथबाट आश्रित योगी समुदाय दुवै शिवको भक्त हुनुले छुट्टै भन्न सकिदैन।’
बुद्धिजीवि गिरिले दशनामी समुदायमा मान्छेको मृत्यु भएपछि गाड्ने संस्कार भएको बताउँदै पूर्वमा यो समुदाय कम भएको र अन्य समुदायको हस्तक्षेपले मृत्यु हुँदा जलाउन बाध्य भएको टिप्पणी गरे। पुस्तकले सन्यासीहरु राजगुरु हुँदै कर्मयोगमा पनि लागेर राज्य निर्माणमा ठूलो योगदान दिएको उनको भनाई थियो ।
पुस्तकमाथि टिप्पणी गर्दै राष्ट्रिय समाचार समिति कर्णाली प्रदेशका प्रमुख शुरबहादुर सिंहले लेखकले दशनामी समुदायको मृत्युपछिको अन्त्यष्टिको विषयमा भएका भ्रम समेत चिर्ने लिखित दस्तावेज प्रकाशन गर्न सफल भएकोमा धन्यवाद दिए। उनले पुस्तक दुई खण्डमा प्रकाशन भएको बताउँदै पहिलो दशनामी समुदायको पृष्ठभूमि, अर्थ परिचय र दोस्रो यस समुदायका एक कर्मशिल व्यक्तिको जीवन संघर्षको गाथाबारे उल्लेख गरिएको उल्लेख गरे।
उनकाअनुसार पुस्तकका हरफ सरल वाक्यसहित मिठासयोग्य भएकाले पाठकलाई पढ्न सजिलो हुने देखिन्छ।
लोकार्पण कार्यक्रमा लेखक चौलागाईले पुस्तकको पहिलो खण्डमा दशनामी समुदायको पृष्ठभुमि, अर्थ र परिभाषा, नेपाल प्रवेश र खस सभ्यतासँगको अन्तरघुलन, समाजमा रहेका विशिष्ट भ्रम र यथार्थताका साथै गिरी, पुरी, भारती, योगीलगायतका दशनामी समुदायको सामाजिक नकारात्मक भ्रम चिर्ने प्रयास भएकोे र दोस्रो खण्डमा स्व.बलदेव गिरीको जीवन संघर्ष तथा कोलमुनी समुदायको बृक्षचार्टका बारेमा उल्लेख गरिएको बताए।
त्यसैगरी, मठ मन्दिरमा बस्ने सन्यासीहरुको कठोर जीवन यात्रा, गृहस्थीकरणको सुरुआत, पारिवारिक जीवन र पुर्नमिलन, दशनामी र योगी उपाधिको थरमा रुपान्तरण, उनीहरुको मृत्यु संस्कारमा भ्रम, समाधि र दाहसंस्कारको दार्शनिक अनुसन्धान पुस्तकमा लिपिवद्ध भएको छ।
पुस्तकमा योगी नरहरीनाथ, जुम्लाको चन्दननाथ भैरवनाथ बाबा र लक्षालकृति पैकेलोको बारेमा चर्चा गरिएको उनले बताए। सो पुस्तक स्व. गिरीका छोरी शान्ता चौलगाईले प्रकाशन गरेका थिए।
साहित्यकार चौलागाईले हालसम्म कर्णालीको परिचय २०६१, कर्णाली निबन्ध संग्रह २०६५, मझेरीबाट हेर्दा कर्णाली २०७३, साक्षरता पुस्तक २०७६, अनियन्त्रित मनका बरालिएका सपनाहरु २०७७, कर्णालीका आख्यान तथा कथा संग्रह २०७५, कर्णालीका गाउँखाने कथा संग्रह २०७९, गंगास्मृति ग्रन्थ २०७९, मानसखण्ड कर्णाली २०८३ पुस्तक लेखिसकेका छन्।

