सामाजिक संजाल:

२०८२ चैत्र २६, बिहीबार

सुर्खेत। कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहसँग डब्लुएचएचका कन्ट्री डाइरेक्टरहरुको भेटवार्ता भएको छ। बिहीबार मन्त्रालयमा मन्त्री शाहको कार्यकक्षमा शिष्टाचार भेट भएको हो।

अन्तर्राष्ट्रिय तथा राष्ट्रिय साझेदार संस्थाहरु डब्लुएचएचका नेपाल, भारत र बंगलादेशका कन्ट्री डाइरेक्टरहरुसँगै लि–बर्ड र एनसाबका कार्यकारी निर्देशकहरु भरत भण्डारी र भिष्मप्रसाद सुवेदीको उपस्थिति थियो।

उक्त भेटवार्तामा मन्त्री शाहले कर्णाली प्रदेश भौगोलिक वनावट, जलवायु जोखिम, खाद्य तथा पोषण असुरक्षा र सीमित स्रोत साधान र आर्थिक अवसरजस्ता चुनौती भएता पनि जैविक विविधता, स्थानीय ज्ञानका कारण बलियो कृषि सम्भावना बोकेको बताए।

उनले कर्णाली प्रदेशमा बर्षौदेखि स्थानीय बाली, बीउ, खेती प्रणाली तथा वातावरणमैत्री अभ्यासबाट अर्गानिक उत्पादन भइरहेको उल्लेख गरे।

‘प्रदेश सरकारले दिगो, उत्पादनशील र आत्मनिर्भर कर्णाली निर्माण गर्ने लक्ष्यसहित काम गरिरहेको छ’, उनले भने, ‘कृषिलाई निर्वाहमुखी अवस्थाबाट माथि उठाउँदै खाद्य सुरक्षा, स्थानीय उद्यम, युवा रोजगारी, महिला सशक्तीकरणलाई जोडेर आर्थिक वृद्धिको आधारको योजना सरकारले बनाइरहेको छ।’

उनले ‘ग्रीन रिभोलुसन’ जस्ता पहल कर्णालीका लागि आवश्यक रहेको बताउँदै यसको विकासका लागि साझेदार संस्थाहरुको भूमिका अपरिहार्य रहेको बताए।

यस्तै, छलफलमा बोल्दै डब्लुएचएचका विभिन्न कन्ट्री डाइरेक्टरहरुले आफुहरुले विभिन्न देशमा गरिरहेको कामको अनुभव सुनाएका थिए।