पञ्चपुरी, सुर्खेत। पञ्चपुरी नगरपालिका– १ देखि ११ सम्मका महिला, बाल तथा युवा समूहका अध्यक्षहरूबीच लैङ्गिक अधिकार, कानुनी संरचना तथा जलवायुजन्य विपत रोकथाम सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।
आवाज संस्था र टिडिएप मिसेरिओर र केजेडईको संयुक्त साझेदारीमा सञ्चालित “नेपालको पश्चिम क्षेत्रमा महिला तथा बालबालिका, विशेषगरी किशोरीहरूलाई आफ्ना अधिकार सुनिश्चित गर्न तथा सेवाहरूमा पहुँच प्राप्त गर्न सशक्त बनाउने परियोजना” अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
पञ्चपुरी नगरपालिका प्रमुख लालविर भण्डारीको प्रमुख आतिथ्यता रहेको उत्त, कार्यक्रममा नगरपालिका विपद् शाखा प्रमुख, महिला बालबालिका शाखा प्रमुख, प्रहरी प्रशासन प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो।
यस्तै, अभिमुखीकरण कार्यक्रमको प्रशिक्षकको रुपमा खेम रेग्मीले गरेका थिए।
कार्यक्रममा महिला समूहबाट २१ जना, बाल समूहबाट २१ जना र युवा समूहबाट १८ जना गरी जम्मा ६० जना सहभागी रहेको आयोजकले जनाएको छ।
अभीमुखीकरणमा बोल्दै नगरप्रमुख भण्डारीले लैङ्गिक समानता, कानुनी सचेतना र जलवायुजन्य विपद् जोखिम न्यूनीकरणलाई समुदायको साझा जिम्मेवारीका रूपमा अघि बढाउनुपर्ने बताए।
भण्डारीले महिला समूह, बाल समूह र युवा समूहका अध्यक्षहरूले अभिमुखीकरणबाट प्राप्त ज्ञानलाई आफ्ना समुदायमा व्यवहारमा उतार्दै सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
अभिमुखीकरणमा लैङ्गिक समानता, महिला तथा बाल अधिकार, सम्बन्धित कानुनी व्यवस्था, स्थानीय तहमा उपलब्ध सेवा तथा संरक्षण संयन्त्रका विषयमा जानकारी दिइएको छ।

साथै जलवायु परिवर्तनबाट उत्पन्न हुने विपतका जोखिम, पूर्वतयारी, समुदायस्तरको विपत व्यवस्थापन तथा जोखिम न्यूनीकरणका उपायबारे पनि छलफल गरिएको संस्थाका सामाजिक परिचालक तेजबहादुर रोकायले जानकारी दिए।
रोकायका अनुसार समूहका अध्यक्षहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्दै समुदायमा अधिकारमुखी सचेतना फैलाउने र जलवायुजन्य विपतप्रति जिम्मेवार सहभागीता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमबाट सहभागीहरूले आफ्ना समूह र समुदायमा लैङ्गिक अधिकार संरक्षण, कानुनी पहुँच वृद्धि तथा विपत जोखिम न्यूनीकरण सम्बन्धी जानकारी प्रभावकारी रूपमा प्रवाह गर्न सक्ने अपेक्षा गरिएको छ।

