सिँजा (जुम्ला)। विश्वको अग्लो ठाउँमा धान फल्ने पातारासी गाउँपालिका–३, छुम जिउलोमा धान रोपिएको छ। दुई हजार ८५० मिटर अग्लो स्थानमा रहेको सो स्थानमा कालीमार्सी धान रोपिएको हो। पातारासी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा आइतबार धान रोपाइँ गरिएको हो।
विश्वको अग्लो स्थानमा धान फल्ने क्षेत्रका रूपमा परिचित छुम जिउलोमा स्थानीय सरकारको अगुवाइमा धान रोपिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए।
यसै गरी जुम्लामा मार्सी धानको रोपाइँ सुरु भएको छ। पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित भएका हुन्। जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि पछिल्ला वर्षमा यो धान रोप्न सुरु गरिएको स्थानीय लोकेन्द्रराज गिरीले बताए।
जिल्लाका सात गाउँपालिका र एक नगरपालिकाको चन्दननाथ, तातोपानी, देपालगाउँ, सिँजा, गज्र्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा पनि स्थानीय कालीमार्सी र रातीमार्सीको रोपाइँ धमाधम भइरहेको छ।
जिल्लामा २ हजार ८ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए। उनकाअनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिला हुन्छन्।
प्रमुख अधिकारीले जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात पनि स्वादिलो, आडिलो र स्वस्थकर हुने दाबी गरे। साथै उनले हुलाकीले जुम्लादेखि मार्सी धान बोकेर काठमाडौँको दरबारसम्म पुग्ने गरेकाे बताए।

