२०८२ चैत्र १४, शनिबार

सुर्खेत। एमालेका नेता विनोदकुमार शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउप्रति कडा प्रतिक्रिया जनाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सरकारको कदमप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

शाहले “एन आइ फर एन आइ, होल वर्ल्ड विल बी ब्लाइन्ड” भन्ने भनाइ उल्लेख गर्दै झण्डै दुईतिहाइ जनमत प्राप्त सरकारको पहिलो कदम नै प्रतिशोधपूर्ण देखिएको टिप्पणी गरेका छन्।

बहुदलीय शासन व्यवस्थामा जनमत स्थायी नहुने उल्लेख गर्दै उनले बदलाको भावनाबाट शासन सञ्चालन गरिए जनताको हितमा काम गर्न नसकिने बताएका छन्।

उनकाअनुसार मन्त्रिपरिषद्को पहिलो बैठकबाट लिइएको निर्णयले देशलाई द्वन्द्वतर्फ धकेल्ने संकेत देखिएको छ। उनले यस्ता निर्णयले राजनीतिक अस्थिरता बढाउन सक्ने चेतावनी समेत दिएका छन्।

शाह नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्यसमेत हुन्। उनले सरकारलाई संयमता अपनाउन र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार अघि बढ्न आग्रह गरेका छन्।