२०८२ माघ ३, शनिबार

सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका १२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र मध्ये ७ क्षेत्रका लागि उम्मेदवारको टुंगो लगाएको छ। शनिबार नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधवकुमार नेपालले कर्णालीका ७ निर्वाचन क्षेत्रका लागि उम्मेदवारलाई टिकट दिएका छन्।

आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ र २, दैलेख–१ र २, रुकुमपश्चिम, जुम्ला र डोल्पाबाट नेकपाले उम्मेदवारहरुको टुंगो लगाएको छ।

नेकपा कर्णाली प्रदेशका अनुसार सुर्खेत–१ बाट जीतबहादुर राना, सुर्खेत–२ बाट झकबहादुर मल्ल, दैलेख–१ बाट अम्बरबहादुर राना, दैलेख–२ बाट योगेन्द्रबहादुर शाही, रूकुमपश्चिमबाट गोपाल शर्मा, जुम्लाबाट नरेश भण्डारी, रडोल्पाबाट धनबहादुर बुढा उम्मेदवार बनेका छन्।

यस्तै, अन्य कर्णालीका ५ वटा निर्वाचन क्षेत्रहरु हुम्ला, कालिकोट, जाजरकोट, सल्यान र मुगुका लागि उम्मेदवारहरु टुंगाउन पार्टीमा छलफल जारी छ। यी जिल्लाहरूमा उम्मेदवारका लागि धेरै नेताहरुले आकांक्षा व्यक्त गरेपछि अन्तिम उम्मेदवार टुंगिन बाँकी छ।

टुंगो लागेका उम्मेदवारहरुमा डोल्पाका बुढा र दैलेख–१ बाट उम्मेदवार बनेका थापा पूर्व नेकपा एकीकृत समाजवादी पार्टीका नेता ह्न। उनि दुवै जना नेकपा एमाले विभाजनपछि समाजवादी पार्टीमा छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बुढा र थापाले सोही निर्वाचत क्षेत्रबाट चुनाव जितेका थिए।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ र २ बाट उम्मेदवार बनेका राना र शाही पूर्व माओवादी पृष्ठभूमीका हुन्। यी दुवै उम्मेदवार पहिलो पटक चुनावी प्रतिस्पर्धामा भाग लिँदै छन्।

रुकुमपश्चिमबाट उम्मेदवार बनेका नेकपाका नेता गोपाल शर्मा ०७४ मा कर्णाली प्रदेश सभा सांसद बनेका थिए। उनी पहिलो पटक संघीय निर्वाचनमा लड्दैछन्।

यस्तै, नेकपा एमालेबाट नेकपा माओवादीमा प्रवेश गरेका दैलेखका योगेन्द्रबहादुर शाहीलाई दैलेख निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनाएको छ। शाही यसअघि नेकपा माओवादी केन्द्रबाट ०७९ मा प्रदेशसभा निर्वाचनमा भाग लिएका शाही एमालेका उम्म्ेदवारसँग पराजित भएका थिए।

जुम्लाका भण्डारी ०६४ मा निर्वाचित सांसद हुन्। ०७४ मा कर्णाली प्रदेशसभा निर्वाचनमा निर्वाचित भएका भण्डारी कर्णाली प्रदेशको कानुनमन्त्री बनेका थिए।