वीरेन्द्रनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य मेनुका शाहीले ग्यासकाे लाइनमा बसेकाहरु पुराना पार्टीका झोलेहरु भएकाे दाबी गरेकी छन्। शाहीले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनले यस्तो बताएकी हुन्।
उनले लेखेकि छन्, ‘सरकारलाई असफल बनाउन बजार र गल्लि-गल्लीमा रित्तो सिलिन्डर बोकेर लाईन लागेका पुराना पार्टीका झोलेहरु, यी झोलेहरुको अरु काम छैन कि क्याहो?’
पछिल्लो एक महिनादेखि देशभर खाना पकाउने एलपी ग्यासकाे अभाव देखिएकाे भन्दै उपभाेक्ताहरु दुइदिनसम्म लाइनमा बसेर डिलर तथा पसलहरुबाट ग्यास लिने गरिरेका छन्।
रास्वपा केन्द्रीय सदस्य शाहीले ग्यास लिनका लागि सिलिन्डरसहित लाइनमा बसेका ग्राहकहरुकाे तस्बीर फेसबुकमा राख्दै उनिहरुकाे कुनै काम नभएर लाइनमा बसेका पुराना पार्टीका झोलेहरु भएकाे बताएकी छन्।
उनले यसरी लाइनमा बसेका उपभोक्ताहरु सरकारलाई असफल बनाउन लागेको दाबी गरेकी छन्।
साथै उनले उनिहरुको कुनै काम छैन कि क्या हाे भन्दै प्रश्न समेत गरेकी छन्।
उनकाे यस प्रकारकाे स्टाटसकाे आलोचना भइरहेको छ।

यस्तै, शाहीले उक्त स्टाटसलाइ सम्पादन गर्दै यस्ताे लेखेकि छन्,’सरकारको आलोचना गर्ने अधिकार सबै नागरिकलाई छ। तर कृत्रिम अभाव सिर्जना गर्ने, अफवाह फैलाउने वा जनतालाई अनावश्यक सास्ती हुने गतिविधि कुनै पनि पक्षबाट हुनु हुँदैन। यदि कसैले राजनीतिक स्वार्थका लागि रित्ता सिलिन्डर बोकेर प्रदर्शन वा भ्रम सिर्जना गरिरहेको हो भने, त्यसले समस्याको समाधान होइन, झन् असहजता बढाउँछ। लोकतन्त्रमा असहमति स्वाभाविक हो, तर विरोध पनि तथ्य, जिम्मेवारी र जनहितलाई केन्द्रमा राखेर हुनुपर्छ।’


