वीरेन्द्रनगर। सुर्खेतका ३ जना किसानहरुलाई मुख्यमन्त्री उत्कृष्ट पुरस्कार प्रदान गरिएको छ। कृषि विकास निर्देशनालयले आइतबार जिल्लाका उत्कृष्ट ३ जना किसानलाई पुरस्कार प्रदान गरेको हो।
कृषि विकास निर्देशक चित्रबहादुर रोकायले सुर्खेत जिल्लामा यस आर्थिक वर्षमा उत्कृष्ट व्यवसाय सञ्चालन गरेका किसानहरुलाई पुरस्कार वितरण गरिएको जानकारी दिए।
उनका अनुसार निर्देशनालयको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रम ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’ तीन किसानलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो।
निर्देशक रोकायले कृषकहरु समीर खत्री, अमित चलाउने र सुमन सुवेदी पुरस्कृत भएको बताए।
उनका अनुसार बायोग्रिन एग्रो प्रा.लिका सञ्चालक भेरीगंगा नगरपालिका–११ का खत्रीलाई ३० हजार नगदसहित प्रमाणपत्र, चलाउने कृषि तथा पशुपन्छी फर्ममा सञ्चालक लेकबेशी नगरपालिका–३ का चलाउनेलाई २५ हजार नगदसहित प्रमाणपत्र र कर्णाली ड्रागन कृषि तथा पशुपन्छ फर्मका सञ्चालक वीरेन्द्रनगर नगरपालिकाकी सुवेदीलाई २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कृषि क्षेत्रलाई सम्मानजनक, आम्दानीमुखी र दीगो व्यवसायका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
मन्त्री शाहले किसानहरुलाई कृषिमा उत्पादन बढाउन आधुनिक प्रविधिको प्रयोग, उन्नत जातका बिउबिजन, यान्त्रिकीकरण, सिँचाइ सुविधा, प्रशोधन तथा बजारीकरणमा विशेष ध्यान दिएको बताए।
पछिल्लो समयमा किसानहरुलाई प्रांगारिक खेतीका लागि सचेत हुँदै गएको बताउँदै किसानले उत्पादन गरेका कृषिउपजह खान योग्य हुनुपर्ने सुझाव दिए।
साथै उनले सरकार किसानहरुलाई आवश्यक परेका बेला सहयोग गर्न तयार रहेको दाबी गरे। कर्णाली सरकारले निर्वाचन क्षेत्र अनुसार युवाहरूका लागि कर्णाली कार्यक्रम ल्याएको उल्लेख गर्दै भूलोग अनुसार खेती गर्न किसानहरुलाई आग्रह गरे।

