२०८३ असार २९, सोमबार

वीरेन्द्रनगर। कालीकोटमा पहिरोले पुरिँदा घट्टमा अन्न पिस्न गएका दुई जनाको मृत्यु भएको छ। सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलास्थित पानी घट्टमा अन्न पिस्न गएका दुई जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार मृत्यु हुनेमा ४६ वर्षीय मन्दिर सावँद र ७६ वर्षीय लालबहादुर सावँद रहेका छन्।

उनीहरू सोमबार बिहान करिब ६ बजेको सयमा अन्न पिस्नका लागि घट्टमा बसिरहेका बेला करिब २५ मिटर माथिबाट आएको पहिरोले पानी घट्टसहित पुरेको थियो।

घटनाबारे स्थानीयवासीले दिउँसो करिब साढे १ बजे प्रहरी चौकी मेहलमुडीलाई जानकारी गराएका थिए। त्यसपछि प्रहरी सहायक निरीक्षक कृष्णबहादुर खड्काको नेतृत्वमा चार जनाको प्रहरी टोली घटनास्थल पुगेर उनिहरुको पहिरोबाट बाहिर निकालेको थियो।

प्रहरीका अनुसार पहिरोका कारण घट्टको आधा भाग पुरिएको छ।